काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा-मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढी आएपछि सरकारले सुरु गरेको खोज, उद्धार, उपचार र राहत व्यवस्थापन सम्बन्धमा गत भदौ १७ गते प्रतिनिधिसभामा जानकारी दिने क्रममा कृष्णभीरमा अवरुद्ध बनेको सडक भदौ महिनाभित्र सञ्चालनमा ल्याउने बताएका थिए।
प्रधानमन्त्री शाहको सोही घोषणाअनुसार पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा उक्त खण्डमा गत भदौ २८ गतेदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज १ गते बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन गरिनेछ।
गत भदौ १० गते बिहान आएको बाढीले कृष्णभीरको ‘सुरक्षा पर्खाल’मा क्षति पुर्याएको थियो भने भदौ १४ गते आएको अर्को बाढीले उक्त पर्खाल भत्काएपछि यातायात सेवा पूर्णरूपमा अवरुद्ध भएको थियो।
त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले सडक विभाग र नेपाल जियोटेक्लिकल सोसाइटीका प्राविधिकहरुको सहयोगमा ४ दिनसम्म द्रूत अध्ययन गरेको थियो। विज्ञहरूले कृष्णभीरको पहाड काटेर २५० मिटर लामो नयाँ ट्रयाक बनाउन पहिलो विकल्पका रूपमा सुझाव दिएका थिए। विज्ञहरूबाट प्राप्त सुझावअनुसार गत भदौ १९ गतेदेखि रुख कटान सुरु गरिएको थियो। त्यसपछि ३५ मिटर उचाइ र २० मिटर भित्रसम्म पहाड खनेर ट्रयाक निर्माण गरिएको हो।
यस काममा प्राविधिकसहितका ५० जनाले निरन्तर दैनिक १२ देखि १६ घण्टासम्म काम गरिरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ। हाल उक्त सडकखण्डमा ग्राभेल गर्ने, नाली निर्माण गर्ने तथा सडकलाई थप मजबुत बनाउने काम भइरहेको छ। भोलिसम्म ग्राभेलको काम पूरा गरी असोज १ गते बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने सरकारको भनाइ छ।








