विश्वव्यापी चिप अभावले पछिल्लो ६ देखि ८ महिनामै स्मार्टफोनको मूल्य ४० प्रतिशतसम्म बढेको छ । स्मार्टफोनमा प्रयोग हुने चिप बनाउने सीमित कम्पनीहरू हुनु र माग अत्यधिक बढ्नुले यसको असर बजारमा स्मार्टफोनदेखि प्रविधिको प्रयोग हुने अधिकांश विद्युतीय सामग्रीमा पर्न थालेको छ ।
अन्तर्राष्ट्रिय स्तरमा देखिएको चिप अभावका कारण नेपाली बजारमा पनि मोबाइल फोनको मूल्य २० देखि ४० प्रतिशतसम्म बढ्न पुगेको सम्बन्धित व्यवसायीहरूले बताएका छन् ।
नेपालमा सामसुङ मोबाइलको आयातकर्ता गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाका अनुसार चिप अभावकै कारण नेपालीले पनि स्मार्टफोन बोक्न पछिल्लो एक वर्षमा महँगो मूल्य तिर्नुपरिरहेको छ । ‘सामसुङका मोबाइल पनि अहिले बजारमा चिप अभावकै कारण मूल्य बढेर आएकाले पछिल्लो एक वर्षमा अधिक महँगो भएको महसुस हुन थालेको छ,’ उनले भने ।
नेपालको बजारमा प्रमुख हिस्सा ओगटेको सामसुङ मोबाइल अहिले स्टकमा भएको सस्तो पाइए पनि अब बजारमा आउने मोबाइलको औसत मूल्य नै ४० हजार रुपैयाँ हाराहारीमा पुग्ने देखिएको छ । अहिले भने सामसुङका सामान्य स्मार्टफोन २० हजारभन्दा माथि पाइन्छन् ।
पछिल्लो समय विद्युतीय उपकरणहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको प्रयोग बढ्दै गएको छ र अन्तर्राष्ट्रिय बजारमा माइक्रोचिप्सको तीव्र अभाव भएको छ ।
घरायसी उपकरण (टिभी, पङ्खा, हिटर, फ्रिज र वासिङ मेसिन) देखि गाडी, ल्यापटप, स्मार्टवाच, ड्रोन, आधुनिक हतियार, लडाकु विमान, रडार र स्याटेलाइट प्रणालीसम्ममा चिपको प्रयोग हुन्छ । यसका साथै मोबाइलमा नयाँ–नयाँ प्रविधिहरू आइरहेका छन् । मोबाइलमा प्रयोग हुने एआई फिचर र ५जी सहितको प्रविधि जडानका कारण पनि मूल्य आकासिँदै गएको देखिएको छ ।
नेपाल मोबाइल वितरक संघका पूर्वअध्यक्ष दिनेश चौल्याद्योका अनुसार मोबाइल मात्र नभई आधुनिक प्रविधि जडानका नाममा घरायसी उपकरणदेखि बाहिर प्रयोग हुने विद्युतीय सामग्रीहरूमा चिपको खपत अत्यधिक बढ्दै गएको छ । यसकै कारण मोबाइल फोनका लागि चिपको अधिक माग भएसँगै मूल्य बढ्न पुगेको हो ।
चिप उत्पादक कम्पनीहरूमा सन् २०२८ सम्मका लागि बुकिङ भइसकेकाले त्योभन्दा अगाडि आउने विद्युतीय सामग्रीको भाउ अहिलेको भन्दा सस्तो नहुने बुझाइ चौल्याद्योको छ ।
अब चिप उत्पादक कम्पनीहरूले सन् २०२९ पछि मात्रै नयाँ अर्डर लिइरहेका छन् भन्ने सन्देश अन्तर्राष्ट्रिय बजारमा फैलिएको र सोहीअनुसारको सूचना आफूहरूलाई आइरहेको पनि उनले बताए।
चिप्सको मूल्य बढेका कारण एक वर्षअगाडि १३ हजार रुपैयाँमा पाइने इन्ट्री लेभलका फोनको मूल्य बढेर हाल २५ देखि ३६ हजार रुपैयाँसम्म पुगिसकेको दाबी पनि चौल्याद्योले गरे । आम व्यवसायीले ४० प्रतिशतसम्मको आँकडा दिइरहँदा चौल्याद्योको दाबीअनुसार त स्मार्टफोनको मूल्य पछिल्लो एक वर्षमै शतप्रतिशत बढिसकेको छ ।
विश्वव्यापी रूपमा ताइवान सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी (टीएसएमसी), सामसुङ इलेक्ट्रोनिक्स (दक्षिण कोरिया), एसएमआईसी (चीन), नेदरल्यान्ड्सको एएसएमएल, इन्टेल र ग्लोबल फाउन्ड्रीज (अमेरिका) ले चिप उत्पादन गर्छन् ।
अमेरिकी कम्पनीहरू भने कम्प्युटर सीपीयू र अटोमोबाइलका सामान्य चिप्समा सीमित भइरहेका छन् र अत्याधुनिक मोबाइल चिप उत्पादनमा यिनीहरूको न्यून उपस्थिति छ । त्यसो हुँदा विश्वव्यापी रूपमै चिपका लागि सीमित कम्पनी हुनु र बजारमा अधिक माग हुँदा माग धान्न नसक्नुको प्रभाव मोबाइल प्रयोगकर्ताहरूमा महसुस हुने गरी देखिएको हो ।
नेपालका लागि सामसुङको मोबाइलसहित अन्य होम अप्लाइन्सको पनि आधिकारिक विक्रेता हिम इलेक्ट्रोनिक्सका अध्यक्ष शेखर गोल्छाका अनुसार चिप्स र मेमोरीको अभावले गर्दा विश्वभर नै प्रिमियम फोन, ल्यापटप तथा आईप्याडको मूल्य २५ देखि ४० प्रतिशतसम्म बढेको छ ।
चिपको माग बढेअनुसार तुरुन्तै उत्पादन बढाउन सम्भव पनि हुँदैन । एउटा अत्याधुनिक चिप कारखाना स्थापना गर्न १५ देखि २० अर्ब अमेरिकी डलर (करिब २० देखि २५ खर्ब नेपाली रुपैयाँ) खर्च हुने र प्लान्ट तयार भएर व्यावसायिक उत्पादन सुरु हुन कम्तीमा ३ देखि ५ वर्ष लाग्ने भएकाले पनि तत्कालै बजारमा चिपको उत्पादन बढेर मूल्य सस्तो हुन नसक्ने व्यवसायीहरू बताउँछन् ।








