काठमाडौं । अस्ट्रेलियाका चर्चित ब्याटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा काठमान्डु गोर्खाजबाट खेल्ने भएपछि उनको ब्याटिङसँगै नेपाली तथा विदेशी बलरसँगको भिडन्तलाई पनि चासोका रूपमा हेरिएको छ ।
टी–२० क्रिकेटमा १४ हजारभन्दा बढी रन बनाइसकेका वार्नर आक्रामक ब्याटिङका लागि परिचित छन् । उपलब्ध तथ्यांकअनुसार उनी बायाँहाते अर्थोडक्स स्पिनविरुद्ध १६१, लेग स्पिनविरुद्ध १५१ र अफ–स्पिनविरुद्ध १३० को स्ट्राइक रेटमा खेल्छन् । बायाँहाते तीव्र गतिका बलरविरुद्ध उनको स्ट्राइक रेट १२६.७ तथा दायाँहाते तीव्र गतिका बलरविरुद्ध १४२ रहेको छ ।
नेपाली बलरमध्ये वार्नरविरुद्ध खेलिसकेको अनुभव सन्दीप लामिछानेसँग मात्र छ । सन् २०१८ को सीपीएलमा सन्दीपले वार्नरलाई १४ रनमा आउट गरेका थिए । २०१९ को आईपीएलमा पनि यी दुईबीच प्रतिस्पर्धा भएको थियो । एनपीएलमा विराटनगर किङ्सबाट खेल्ने सन्दीप र काठमान्डु गोर्खाजका वार्नरबीचको पुनः भेटलाई विशेष रूपमा हेरिएको छ ।
स्पिनतर्फ जनकपुर बोल्ट्सका ललित राजवंशी, सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी, कर्णालीका बिपिन शर्मा तथा पोखराका सागर ढकाललगायतले वार्नरको सामना गर्नेछन् । पोखरा एभेन्जर्समा रहेका शाकिब अल हसनसँग पनि वार्नरको अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज क्रिकेटमा लामो प्रतिस्पर्धा छ । टी–२० मा शाकिबको बलिङविरुद्ध वार्नरले ३८ बलमा ६३ रन बनाएका छन् भने शाकिबले उनलाई पाँचपटक आउट गरेका छन् ।
पेस बलिङतर्फ सोमपाल कामी, नन्दन यादव, हेमन्त धामी, अविनाश बोहरा, आकाश चन्द, रिजन ढकाल, विकास आग्री र प्रतिश जीसीलगायत नेपाली बलर वार्नरका लागि चुनौती बन्नेछन् ।
विदेशी खेलाडीमा जनकपुरका जिम्मी नीशम, सुदूरपश्चिमका स्कट कुगेलेइन, चितवनका रवि बोपारा तथा लुम्बिनीका रुबेन ट्रम्पेलमन प्रमुख नाम हुन् । विशेषगरी बायाँहाते तीव्र गतिका बलर ट्रम्पेलमनविरुद्ध वार्नरको स्ट्राइक रेट १२६.७ रहेकाले उनीहरूको सम्भावित भिडन्त पनि चासोको विषय बन्न सक्छ ।
वार्नरलाई रोक्न बलरको शैलीसँगै टीयू मैदानको अवस्था, नयाँ बलको प्रयोग, बलिङको कोण, लम्बाइ र फिल्डिङ योजना महत्वपूर्ण हुने देखिन्छ ।
एनपीएलमा वार्नरले नेपाली क्रिकेटका अनुभवीदेखि युवा बलरसम्मको सामना गर्ने भएकाले उनको ब्याट र नेपाली बलरबीचको प्रतिस्पर्धा प्रतियोगिताको प्रमुख आकर्षणमध्ये एक बन्नेछ ।








