मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरू मा इरानी क्षेप्यास्त्र तथा ड्रोन आक्रमणबाट ठूलो क्षति पुगेको खुलासा भएको छ। सीबीएस न्युजले प्राप्त गरेका नयाँ तस्बिरहरूमा भवन, सवारी साधन र महत्त्वपूर्ण सैन्य उपकरणहरू पूर्ण रूपमा ध्वस्त भएको देखिएको छ।
अमेरिकी सेनाका बहालवाला सैनिकहरूले नाम नखुलाउने शर्तमा ती तस्बिरहरू सञ्चारमाध्यमलाई उपलब्ध गराएका हुन्। ‘हाम्रा बेसहरूमा भएको यो ठूलो क्षतिबारे अमेरिकी जनतालाई सही जानकारी गराइएको छैन,’ एक अमेरिकी सैनिकले भनेका छन्।
सार्वजनिक तस्बिरहरूमध्ये साउदी अरेबियास्थित ‘प्रिन्स सुल्तान एयर बेस’मा रहेको ‘Boeing E-3 Sentry’ विमानमा प्रहार हुँदा पछाडिको भाग र राडार प्रणाली ध्वस्त भएको देखिएको छ। त्यसैगरी, कुवेतको ‘क्याम्प बुहरिङ’ र ‘क्याम्प अरिफजान’मा रहेका ब्यारक, सवारी साधन र भवनहरूमा गम्भीर क्षति पुगेको छ।
अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को इन्स्पेक्टर जनरलले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनअनुसार इरानी आक्रमणका कारण करिब ३.७ अर्ब अमेरिकी डलर बराबरको सैन्य उपकरण र झण्डै ६० वटा विमान नष्ट भएका छन्।
प्रतिवेदन अनुसार कुवेत, बहराइन, कतार, युएई, साउदी अरेबिया, इराक, ओमन र जोर्डनमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित गरी इरानले आक्रमण गरेको थियो। यस विषयमा पेन्टागनले भने हालसम्म आधिकारिक प्रतिक्रिया दिएको छैन।











