अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजरायललाई २ अर्ब ८० करोड डलर बराबरको गोला बारुद तथा बम बिक्री गर्ने तयारी गरेको छ । एक अमेरिकी अधिकारीले बताए अनुसार प्रस्तावित प्याकेजमा २००० पाउन्ड (करिब ९०७ किलोग्राम)का हजारौँ अत्यधिक शक्तिशाली बम पनि हुनेछ ।
अधिकारीका अनुसार प्रस्तावित बिक्रीबारे अमेरिकी कांग्रेसका सम्बन्धित समितिहरूलाई अनौपचारिक रूपमा जानकारी गराइसकिएको छ । प्याकेजमा २०,००० एमके ८४ एस र २०,००० बीएलयू–११७ बम पनि छन् ।
यसअघि यो समाचार द वासिङ्टन पोस्टले पहिलो पटक सार्वजनिक गरेको थियो । अमेरिकी विदेश मन्त्रालय र इजरायली दूतावासले यस मामिलामा तत्काल टिप्पणी गरेका छैनन् । २,००० पाउन्डका यी बमहरू इजरायलले गाजा तथा लेबनानमा प्रयोग गरेको भन्दै मानवअधिकार विज्ञहरूले यसअघि पनि चिन्ता व्यक्त गरेका छन् ।
गाजा युद्ध सुरु भएयता इजरायलप्रति अमेरिकी जनमतमा पनि परिवर्तन आएको रोयटर्सले जनाएको छ । जूनमा गरिएको क्विनिपियाक विश्वविद्यालयको सर्वेक्षणमा ४८ प्रतिशत अमेरिकी मतदाताले अमेरिकाले इजरायललाई अत्यधिक समर्थन गरिरहेको बताएका थिए ।
डेमोक्रेट मतदातामध्ये यस्तो धारणा राख्नेको सङ्ख्या ६६ प्रतिशत थियो । गाजा स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सैन्य अभियानमा ७३ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ । संयुक्त राष्ट्रसङ्घीय अनुसन्धानले गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाएको छ, जसलाई इजरायलले अस्वीकार गर्दै आफ्नो सैन्य कारबाहीलाई आत्मरक्षाका रूपमा प्रस्तुत गर्दै आएको छ ।
यो प्रस्तावित हतियार बिक्री अन्तिम रूपमा स्वीकृत भइसकेको सम्झौता भने होइन । अमेरिकी अधिकारीहरूले बिक्रीका लागि आवश्यक प्रक्रिया जारी रहेको बताएका छन् ।








