काठमाडौँ । सरकारले असोजको पहिलो साता राजदूत नियुक्त गर्ने भएको छ । २०८३ जेठ १४ गते मागिएको आवेदनका आधारमा १३ देशमा राजदूत नियुक्त गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका एक सहसचिवले भने, ‘प्रधानमन्त्री बालेन संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जानुअघि नै राजदूतको टुङ्गो लाग्छ, सोही गतिमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।’ मन्त्रालयले नाम टुङ्गो लगाएर प्रधानमन्त्रीलाई सिफारिस गर्नेछ ।

लामो समयदेखि दूतावासहरू खाली रहँदा अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश गइरहेको छैन । प्रधानमन्त्री आफैँ पहिलोपटक मुलुकबाहिर जान लागेका छन् । यस्तो अवस्थामा समेत राजदूत नियुक्त नहुँदा राम्रो सन्देश नजाने भएकाले उनी अमेरिका जानुअघि नै राजदूत नियुक्त गर्ने गरी काम अगाडि बढाइएको हो ।

हाल अमेरिका, चीन, भारत, अस्ट्रेलिया, जर्मनी, इजरायल, जापान, दक्षिण कोरिया, मलेसिया, ओमान, बेलायत, कतार, रुस, साउदी अरेबिया, श्रीलङ्का र स्पेनमा नेपाली राजदूत छैनन् । त्यस्तै, इजिप्ट, बहराइन, बङ्गलादेश, म्यानमार र राष्ट्रसङ्घीय नियोग भियनामा रहेका नेपाली राजदूतको समेत कार्यकाल सकिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि त्यहाँका राजदूतहरूको म्याद थपिएको छ ।

अहिले १३ वटै दूतावासमा राजदूत नियुक्त गर्ने गरी तयारी भइरहेको छ । सबै ठाउँमा एकैपटक गर्न नसकिए पनि महत्त्वपूर्ण देशहरूमा नियुक्त गर्ने मन्त्रालयको तयारी छ । अमेरिका, चीन, भारत, जापान, मलेसिया, साउदी अरेबिया, रुसलगायत देशमा चाँडै राजदूत पठाउने तयारी छ । एकैपटक हुन नसके दुई वा तीन चरणमा राजदूत नियुक्त गरिनेछ । यद्यपि, प्रधानमन्त्री बालेन अमेरिका जानुअघि नै यसको सुरुवात भइसक्ने परराष्ट्र मन्त्रालयको दाबी छ ।

मन्त्रालयले २०८३ जेठ १४ गते १३ देशका राजदूतका लागि आवेदन मागेको थियो, जसमा चार हजार सात सय जनाले आवेदन दिएका थिए । मन्त्रालयले त्यसलाई छोट्याएर (सर्टलिस्ट गरी) दुई हजार सात सयमा झारेको थियो । ती २ हजार ७ सय जनाको नाम अनौपचारिक छलफलका लागि प्रधानमन्त्री बालेन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पठाइएको थियो । स्रोतका अनुसार, ‘उहाँहरूले त्यसको अध्ययन गरी अन्तिम सूची तयार गर्न परराष्ट्रमन्त्री शिशिर खनाललाई पठाउनुभएको छ ।’ अहिले यसै विषयमा परराष्ट्र मन्त्रालयले काम गरिरहेको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले राजदूत नियुक्तिको विषयमा मन्त्रालयले काम गरिरहेको र चाँडै टुङ्गो लगाइने बताए । उनले रातोपाटीसँग भने, ‘राजदूत नियुक्ति प्रक्रियामा रहेको छ, यस विषयलाई छिट्टै टुङ्ग्याउने गरी गृहकार्य भइरहेको छ ।’

विभिन्न देशमा नेपालका ३१ वटा दूतावास, ३ वटा स्थायी नियोग र १० वटा महावाणिज्य दूतावास गरी ४४ वटा नियोग छन् । यसै आर्थिक वर्षदेखि दक्षिण अफ्रिका, ब्राजिल र डेनमार्कमा रहेका दूतावास बन्द गर्ने सरकारको निर्णयपछि अब २८ वटा दूतावास मात्र बाँकी छन् । १३ वटा दूतावास अझै कार्यवाहकको भरमा चलिरहेका छन् भने सातवटा दूतावासमा मात्र परराष्ट्र सेवाका कर्मचारी (कूटनीतिज्ञ) तर्फबाट राजदूत छन् ।

यी दूतावासहरू हाल परराष्ट्र मन्त्रालयका कर्मचारीले नै धानिरहेका छन् । मन्त्रालयले १३ वटा दूतावासमा खुला एवं राजनीतिक क्षेत्रका प्रबुद्ध व्यक्तिहरूलाई सिफारिस गर्नेछ भने बाँकीमा परराष्ट्र सेवाका राजपत्राङ्कित विशिष्ट वा प्रथम श्रेणीका (सहसचिव वा सचिव) कर्मचारी नियुक्त गर्नेछ । राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा ५० प्रतिशत परराष्ट्र सेवाका कर्मचारी र ५० प्रतिशत प्रबुद्ध व्यक्तिहरूबाट राजदूत नियुक्त गरिने व्यवस्था छ ।

प्राप्त आवेदनका आधारमा को व्यक्ति कुन देशका लागि योग्य हुन्छ भनी चयन गरेर मात्र सिफारिस गरिने मन्त्रालयले जनाएको छ । देश तोकेर आवेदन नमागिए पनि अधिकांश आवेदकले आफू इच्छुक रहेको देश तोकेका छन् । परराष्ट्रका एक अधिकारीले भने, ‘देश तोक्नु ठीक हो, तर तोकेकै आधारमा त्यही देश पठाइँदैन । उम्मेदवारको क्षमता र योग्यताका आधारमा सिफारिस गरिनेछ ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय