काठमाडौं । हिमालयन इन्टरनेशनल भास्कुलर समिट (हिमभास) को दोस्रो संस्करण आगामी चैत ३ देखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। हिमभासका अध्यक्ष डा. सन्दीपराज पाण्डेका अनुसार यो सम्मेलन १७ मार्चदेखि २१ मार्च २०२७ सम्म सञ्चालन हुनेछ।
नेपालमा भास्कुलरसम्बन्धी पहिलो वृहत अन्तर्राष्ट्रिय सम्मेलनका रूपमा सन् २०२४ मा हिमभासको सुरुआत गरिएको थियो। सोही सम्मेलनलाई निरन्तरता दिँदै दोस्रो संस्करण आयोजना गर्न लागिएको हो। मङ्गलबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पाण्डेले सन् २०२४ मा आयोजित पहिलो संस्करणमा ४२ देशका विज्ञ चिकित्सक तथा वैज्ञानिक सहभागी भएको जानकारी दिए। तीन दिनसम्म चलेको उक्त सम्मेलनमा स्वदेशी तथा विदेशी गरी ३५० भन्दा बढीको सहभागिता रहेको उनले बताए।
यसपटक सम्मेलनलाई अझ ठूलो बनाउने तयारी भइरहेको छ। आयोजकले १०० भन्दा बढी देशका विशेषज्ञ चिकित्सक तथा वैज्ञानिकलाई निमन्त्रणा पठाएको छ। हालसम्म ६० भन्दा बढी देशबाट सहभागिताका लागि दर्ता भइसकेको आयोजकले जनाएको छ। यस संस्करणमा अघिल्लो पटकको तुलनामा कम्तीमा दोब्बर विदेशी विज्ञ सहभागी हुने अपेक्षा गरिएको छ।
हिमालय क्षेत्रसँग सम्बन्धित मुलुक तथा विश्वका विभिन्न देशका भास्कुलर विशेषज्ञलाई एउटै मञ्चमा ल्याएर ज्ञान, सीप, अनुसन्धान तथा उपचार अनुभव आदानप्रदान गर्ने उद्देश्यले हिमभास आयोजना हुँदै आएको डा. पाण्डेले बताए। सम्मेलनमा भास्कुलरसम्बन्धी अध्ययन तथा अनुसन्धानका प्रतिवेदन, वैज्ञानिक पेपर र पोस्टर प्रस्तुत गरिनेछ। यसपटक ३०० भन्दा बढी पेपर तथा पोस्टर प्रस्तुत हुने तयारी छ।
भास्कुलर चिकित्सा मानव शरीरमा शिरदेखि पाउसम्म रहेका विभिन्न रक्तनलीको अध्ययन, अनुसन्धान, रोग पहिचान तथा उपचारसँग सम्बन्धित चिकित्सा विधा हो। सम्मेलनमा अमेरिका, बेलायत, अस्ट्रेलिया, इटाली, फ्रान्स, उरुग्वे, जापान, चीन, भारत र युएईलगायत देशका विशेषज्ञ सहभागी हुने आयोजकले जनाएको छ। त्यस्तै बङ्गलादेश, पाकिस्तान, भुटान, श्रीलंका, फिलिपिन्स, थाइल्यान्ड, मलेसिया, सिंगापुर, टर्की, अस्ट्रिया, कोलम्बिया, इजिप्ट, हङकङ, स्वीडेन र ओमानलगायत देशका विज्ञहरूको सहभागिता पनि सुनिश्चित भइसकेको छ।
हिमभास २०२७ को अर्को प्रमुख उद्देश्य नेपालको मेडिकल टुरिजम प्रवर्द्धन गर्नु रहेको डा. पाण्डेले बताए। पहिलो हिमभासमा सहभागी ४० भन्दा बढी विदेशी विशेषज्ञ सम्मेलनपछि माउन्टेन फ्लाइट तथा अन्नपूर्ण आधार शिविर (एबीसी) ट्रेकमा गएका थिए। यसपटक पनि सहभागी धेरै विदेशी चिकित्सकले सम्मेलनपछि केही दिन नेपालमा बसेर विभिन्न पर्यटकीय क्षेत्रको भ्रमण गर्ने इच्छा व्यक्त गरेको उनले बताए। यसले सम्मेलनसँगै नेपालको पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने आयोजकको अपेक्षा छ।
अध्यक्ष पाण्डेले पहिलो हिमभासपछि ३०० भन्दा बढी विदेशी बिरामीले उपचारका लागि आफूलाई सम्पर्क गरेको दाबी गरे। भारत, भुटान र बङ्गलादेशका साथै मध्यपूर्व, मलेसिया, इन्डोनेसिया, टर्की तथा केही युरोपेली मुलुकबाट समेत बिरामी नेपालमा उपचारका लागि आउन थालेको उनले बताए। नेपालमा तुलनात्मक रूपमा सस्तो, सहज र गुणस्तरीय उपचार उपलब्ध हुने सन्देश अन्तर्राष्ट्रिय स्तरमा पुग्नु सम्मेलनको महत्त्वपूर्ण उपलब्धि भएको उनको भनाइ छ।
हिमभास २०२७ मार्फत विश्वभरका विज्ञबीच चिकित्सा ज्ञान र अनुभव आदानप्रदानलाई थप विस्तार गरिनेछ। यसका साथै नेपालको स्वास्थ्य सेवा र पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रयास गरिने आयोजकले जनाएको छ।








