काठमाडौं : सर्वोच्च अदालतमा एकै महिनाको अवधिमा दुई पटक आगलागी भएको छ। बुधबार बिहान साढे ८ बजेतिर मुद्दा फाँटमा आगलागी भएको छ। आगलागीबाट तीनवटा कम्प्युटरसहित केही महत्वपूर्ण कागजात,कुर्सी र टेबुल जलेका छन्।
प्रारम्भिक जानकारीअनुसार विद्युत् सर्ट भएर आगलागी भएको हो। प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यसअघि भदौ १७ गते सर्वोच्चको अभिलेख शाखामा आगलागी भएको थियो। त्यतिबेला सामान्य कागजपत्र मात्रै जलेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले दावी गरेका थिए।
त्यसको अनुसन्धान जारी रहेकै बेला पुनः अदालतमा आगलागी भएको हो। यस घटनाले अदालतको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। विशेषगरी मुद्दासँग सम्बन्धित महत्वपूर्ण कागजात तथा अभिलेख रहने संवेदनशील क्षेत्रमा पटक-पटक आगलागी हुनु आफैमा गम्भीर विषय हो।








