काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकसम्बन्धी प्रतिवेदनमा मौद्रिक नीति निर्माण गर्ने समितिको व्यवस्था थप्न सुझाव दिएका छन्।
बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदनमाथि छलफलका क्रममा उनले यस्तो धारणा राखेका हुन्।
सांसद केरुङले मौद्रिक नीति निर्माणका लागि छुट्टै समिति गठन गर्नु उपयुक्त हुने बताए। विधेयकका विभिन्न दफामा दफावार छलफलका क्रममा आफूहरू गहन रूपमा सहभागी भएको र सदस्यहरूले आफ्ना धारणा राख्दै समितिलाई सर्वसम्मत निर्णयमा पुग्न सहज बनाएको उनले स्पष्ट पारे। गभर्नरलगायत पदाधिकारीको पदावधिका विषयमा आफूहरूको फरक धारणा भए पनि समितिको निर्णय प्रक्रियामा त्यसले बाधा नपार्ने उनको भनाइ छ।
सांसद पुष्पराज कँडेल र परशुराम तामाङले पदावधिका विषयमा आफ्नो फरक मतलाई कसरी अभिलेख गर्ने भन्ने विषय उठाउनेतर्फ सङ्केत गर्दै केरुङले आफू पनि सोही विषयमा सहमत रहेको बताए। तर समितिले सर्वसम्मत रूपमा गरेका निर्णयमा भने आफ्नो फरक धारणाले बाधा नपुग्ने उनले प्रस्ट पारे। मौद्रिक नीति निर्माण गर्ने समितिको विषयमा यसअघि पर्याप्त अध्ययन गर्न नसकेको भए पनि छलफलका क्रममा यसको आवश्यकता महसुस भएको उनले बताए।
छलफलमा बोल्दै केरुङले भने, ‘एउटा मौद्रिक नीति अनि हाम्रो देशको अर्थतन्त्रको विषयमा त्यो समितिले केही न केही निष्कर्षहरू, त्यसका डिस्कोर्सहरू दिँदाखेरि हाम्रो अर्थतन्त्रलाई, देशलाई राम्रै हुन्छ भने त्यसो गर्दा पनि जान सकिन्छ।’ उनले थपे, ‘जुन मनिटरी पोलिसी निर्माण गर्ने समितिको सन्दर्भमा त्यो समिति निर्माण गर्दा राम्रै हुन्छ कि भन्ने निष्कर्षमा म पनि पुगेँ।’
समितिको प्रतिवेदन सर्वसम्मत रूपमा तयार भइसकेपछि त्यसमा नयाँ विषय थप्न मिल्ने वा नमिल्ने विषयमा उनले प्रश्न उठाएका थिए। उनले भने, ‘तर अब यहाँ सर्वसम्मत रूपमा पारित भएको हाम्रो प्रतिवेदन हाम्रो हातमा हुँदै गर्दा खेरी यो कुराहरू थप्न नपाउने व्यवस्था छ कि छैन? आखिर समिति त यही नै हो, दफावार छलफल गर्दा पनि यही हो।’
दफावार छलफल र प्रतिवेदनमाथिको छलफल दुवैमा समितिका सदस्यहरू नै सहभागी हुने भएकाले सान्दर्भिक देखिएमा मौद्रिक नीति निर्माण समितिको व्यवस्था थप गर्न सकिने उनको भनाइ छ। विधेयकको प्रतिवेदन तयार पार्ने क्रममा समितिले लोकतान्त्रिक प्रक्रियाबाट दफा तथा उपदफामा गहन छलफल गरेको भन्दै उनले अर्थ समितिका सभापति र सदस्यहरूप्रति आभार व्यक्त गरे। राष्ट्र बैंक ऐन संशोधन विधेयकको अन्तिम प्रतिवेदन सदनमा पठाउने चरणमा पुगेकाले समितिको काम पूरा हुन लागेको अनुभूति भएको उनले बताए।








