जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्न र हिमताल संरक्षणको माग गर्दै हिमाली भेगका युवाहरूले मनास्लु आधार शिविरमा आमरण अनसन सुरू गरेका छन् । चुमनुब्री गाउँपालिका- १ सामागाउँका दावा नोर्वु लामासहित ११ जना युवाहरूले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनिकरण गर्नेसहित आठ बुँदे माग राख्दै शुक्रबार दिउँसो १२ बजेदेखि आमरण अनसन सुरू गरेका हुन् ।
उनी मनास्लु आधार शिविरभन्दा केही माथि पहिलो शिविरभन्दा केही तल रहेको ४ हजार ९०० मिटर उचाइमा अनसन बसेका हुन् ।
माग पत्रमा मनास्लु आधार शिविर तथा पुंगेन गुम्बामा यो वर्ष धेरै नयाँ हिमतालहरू थप भइरहेकाले यसबाट उत्पन्न हुने जोखिमको अध्ययन तथा यसबाट बच्न अपनाउनु पर्ने उपायहरूको खोजी गर्न सरकारसमक्ष माग गरिएको छ । ‘मनास्लुको फेद(पुंगेनगुम्बा)मा अहिले धेरै हरिया रङका तालहरु थपिएका छन् ।
विशेषगरी वीरेन्द्र ताल,कालताल,घुन्सारफुकमा रहेको ताल, न्योचुथानमा रहेका तीनवटा ठूलो जोखिमयुक्त ताल एवं मनास्लु क्षेत्र र चुम क्षेत्रमा रहेका हिमतालहरुको हवाइ निरीक्षण गरियोस्,’पत्रमा भनिएको छ,‘यी सबै तालहरूको गहिराइ मापन गरी भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गरियोस् ।’ यी ताल र नदीहरूमा पानीको जलसतह नाप्ने संयन्त्र र जोखिम बढेमा सर्वसाधारणलाई सतर्क गराउन साइरन बज्ने प्रविधि जडान गर्न पनि माग गरिएको छ ।
सन् २०२७ मा एलनिनोको प्रभावले हिमाली क्षेत्रमा अझै धेरै असर पर्ने हुनाले हिमाली बस्तीका नागरिकको जीवन रक्षा गर्न पूर्वतयारी गर्नुपर्ने माग पनि उनीहरूको छ । नेपाल र चीनका सीमावर्ती क्षेत्रमा रहेका हिमताल तथा हिमनदीकोहरूको संयुक्त रुपमा अध्ययन, अनुगमन गर्न पनि माग गरिएको छ । एमक्यापजस्ता हिमाली क्षेत्रसँग सम्बन्धी संस्थाहरूले पनि देशभरका हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण बढिरहेको जलसतहको नियमित अनुगमन र निगरानी राखी त्यसबाट उत्पन्न जोखिमबाट आसपासका नागरिकलाई सुरक्षित राख्न पहल गर्नुपर्ने माग गरिएको छ ।
त्यस्तै सबै हिमाली क्षेत्रका विद्यालयहरूमा जलवायु परिवर्तनको प्रभावसम्बन्धी विषय पाठ्यक्रममा समेट्न पनि माग गरिएको छ । त्यस्तै विश्वव्यापी वातावरणीय प्रदुषणमा नेपालको योगदान जम्मा ०.४ प्रतिशत योगदान रहेकामा प्रदुषण फैलाउने विकसित राष्ट्रहरूबाट नेपालले पाउनु पर्ने जलवायु क्षतिपूर्ति र न्यायका लागि जोडदार पहल गर्न माग गरिएको छ ।
हिमाली क्षेत्रमा परेको जलवायु परिवर्तनको वास्तविक प्रभाव प्रत्यक्ष अनुभव गर्नका लागि सहरमा हुने गरेका जलवायुसम्बन्धी बैठक,सेमिनारहरू हिमाली क्षेत्रमा आयोजना गर्न विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सरकारी,गैरसरकारी संस्थाहरूसँग माग गरिएको छ ।
सो आठ बुँदे माग राख्दै केही दिनअघि लामाले गोरखाका प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष कर्मा छेवाङ लामा, मनास्लु संरक्षण क्षेत्र आयोजना(एमक्याप)को स्थानीय इकाइ कार्यालय र सामागाउँ प्रहरी चौकीमा ध्यानकार्षण-पत्र पेश गरेका थिए ।








