काठमाडौं । चीनले जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै एसियाली खेलकुदको महिला भलिबलमा स्वर्ण पदक जितेको छ ।
मंगलबार भएको फाइनलमा चीनले पहिलो सेट २५–१९ ले जित्दै अग्रता लिएको थियो । दोस्रो सेटमा पनि चीनले सुरुदेखि नै सामान्य अग्रता कायम राख्दै २५–२० ले आफ्नो पक्षमा पार्यो ।
तेस्रो सेटमा जापानले आक्रामक सुरुआत गर्दै ७–१ को अग्रता बनाएको थियो । त्यसपछि चीनले खेलमा फर्कँदै सर्भिस र ब्लकिङमा सुधार गर्यो र स्कोर १९–१९ को बराबरीमा पुर्यायो ।
त्यसपछि चार पटक स्कोर बराबरी भएको प्रतिस्पर्धात्मक सेटमा चीनले अन्तिममा २५–२३ को जित निकाल्दै खेल ३–० ले आफ्नो पक्षमा पार्यो ।
यससँगै चीनले एसियाली खेलकुदको महिला भलिबलमा १०औँ स्वर्ण पदक जितेको छ । चीन यस प्रतियोगिताको साविक विजेता पनि हो ।
सेमिफाइनलमा चीनले थाइल्यान्डलाई ३–२ ले पराजित गरेको थियो भने जापानले दक्षिण कोरियालाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
यसअघि चीनले हाङझाउ एसियाली खेलकुदमा पनि जापानलाई सोझो सेटमा पराजित गर्दै महिला भलिबलको स्वर्ण जितेको थियो ।
नेपाली महिला भलिबल टोली भने समूह चरणबाटै बाहिरिएको थियो र १२औं स्थान हासिल गरेको छ ।








