काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) अमेरिका प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन अमेरिकाको न्युयोर्क प्रस्थान गरेका हुन्।
प्रधानमन्त्री शाह मंगलबार साँझ कतार एयरवेजमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने तालिका छ। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।
उनको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत छन्। प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किनेछन्। प्रधानमन्त्री भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो।








