दोलखा सदरमुकाम चरिकोटमा गरिएको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद गुज्रिएका अखाद्य सामग्री फेला परेपछि एक पसल नै बन्द गरिएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी सुरथ पोख्रेलको नेतृत्वमा बिहीबार गरिएको अनुगमनका क्रममा चरिकोटस्थित स्नेहा स्टोर्समा ठूलो परिमाणमा म्याद गुज्रिएका खाद्य सामग्री फेला परेको हो। म्याद नाघिसकेका सामग्री बिक्रीका लागि राखिएको पाइएपछि प्रशासनले पसल बन्द गराएको जनाएको छ। पशुपति मन्दिरडाँडादेखि सातदोबाटो चोकसम्म गरिएको अनुगमनमा प्रशासनसहित विभिन्न सरकारी निकायका प्रतिनिधि सहभागी थिए। टोलीले खाद्य सामग्री तथा ग्यास डिलरहरूमा पुगेर वस्तुको म्याद, गुणस्तर, मूल्य, भण्डारणको अवस्था र उपभोक्ता हितसँग सम्बन्धित विषय निरीक्षण गरेको थियो।

स्नेहा स्टोर्समा गरिएको निरीक्षणका क्रममा म्याद गुज्रिएका खाद्य सामग्रीको परिमाण उल्लेख्य भेटिएपछि प्रशासनले तत्काल पसल सञ्चालनमा रोक लगाएको हो। पसलमा रहेका म्याद गुज्रिएका तथा अखाद्य सामग्री हटाएर सुरक्षित रूपमा व्यवस्थापन गर्नुपर्नेछ। त्यसपछि बिक्रीयोग्य सामग्री व्यवस्थित गरिएको सुनिश्चित भएपछि प्रशासनको रोहवरमा मात्रै पसल पुनः सञ्चालन गर्न अनुमति दिइने जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ।

अनुगमन टोलीले अन्य पसलहरूमा पनि म्याद नाघेका तथा उपभोगका लागि अनुपयुक्त सामग्री फेला पारेको थियो। ती सामग्रीलाई बिक्रीबाट अलग गराउँदै नियमानुसार व्यवस्थापन गर्न लगाइएको छ। साथै व्यवसायीलाई खाद्य सामग्री खरिद, भण्डारण र बिक्री गर्दा म्याद तथा गुणस्तरमा विशेष ध्यान दिन चेतावनी दिइएको छ। बजारमा म्याद गुज्रिएका सामग्री बिक्रीका लागि राखिनु उपभोक्ताको स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले प्रशासनले व्यवसायीलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

प्रशासनले चरिकोट बजारमा मात्रै नभई जिल्लाका अन्य बजार क्षेत्रमा समेत अनुगमनलाई निरन्तरता दिने जनाएको छ । बजारमा बिक्री भइरहेका खाद्य वस्तुको म्याद, गुणस्तर, मूल्य र भण्डारणको अवस्था नियमित रूपमा जाँच गरिने प्रशासनको भनाइ छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने आवाज उठिरहेका बेला स्नेहा स्टोर्समा ठूलो परिमाणमा म्याद गुज्रिएका सामग्री भेटिनुले बजारमा अझ कडाइका साथ निगरानी आवश्यक रहेको जनाएको छ। प्रशासनले व्यवसायीलाई सचेत गराउँदै आगामी अनुगमनमा यस्ता कमजोरी दोहोरिए कारबाहीको दायरामा ल्याइने संकेतसमेत गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय