काठमाडौँ। पाकिस्तानमा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै उनका समर्थकले राजधानी इस्लामाबादमा प्रदर्शनको तयारी गरेपछि सरकारले राजधानी प्रवेश गर्ने प्रमुख सडकहरू बन्द गर्न थालेको छ।
इस्लामाबाद प्रहरीले बुधबार साँझदेखि इस्लामाबाद–पेसावर राजमार्ग, इस्लामाबाद–डेरा इस्माइल खान राजमार्ग, र ग्रान्ड ट्रंक रोडका विभिन्न स्थान बन्द गरिने जनाएको छ । प्रहरीले सर्वसाधारणलाई यात्रा योजना त्यसअनुसार बनाउन आग्रह गरेको छ । पाकिस्तानको प्रमुख दैनिक डाउनका अनुसार सडक बन्द अनिश्चितकालका लागि गरिएको हो । इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले आगामी २७ सेप्टेम्बरमा इस्लामाबादतर्फ मार्च गर्ने तयारी गरेपछि सरकारले राजधानी प्रवेश रोक्न यस्तो कदम चालेको हो ।








