
२७ असोज, काठमाडौं।
नेकपा माओवादी केन्द्र निकट जेनजीहरूले स्मृति तिमिल्सिनाको संयोजकत्वमा ‘जेनजेड रेड फोर्स’ गठन गरेका छन्। शनिबार गठन भएको यो संगठन चार दिनमै ४० जिल्लामा विस्तार भइसकेको छ। संयोजक तिमिल्सिनाले अनलाइनखबरसँग भने, “चार दिनमै ४० वटा जिल्लामा संयोजक तोक्ने काम भइसकेको छ। बाँकी जिल्लामा पनि छिट्टै गठन गर्छौं। यो अभियान मैले नै सुरु गरेँ। अहिले हजारौं जेनजी यसमा जोडिएका छन्।”
‘जेनजेड रेड फोर्स’ विशेषगरी युवा सदस्यहरूलाई सक्रिय बनाउन र पार्टीको सशक्तिकरण गर्न निर्माण गरिएको संगठन हो। यसको उद्देश्य पार्टीलाई चीनको कम्युनिस्ट पार्टी जस्तै सक्षम र प्रभावकारी बनाउने रहेको संयोजक तिमिल्सिनाले बताइन्। आगामी २९ असोजमा पत्रकार सम्मेलनमार्फत संगठनको आधिकारिक घोषणापत्र जारी गरिने छ। घोषणापत्रमा संगठनको उद्देश्य, संरचना, विस्तार रणनीति र युवाहरूको भूमिका समेटिने अपेक्षा गरिएको छ।
सामाजिक सञ्जालमा रेड फोर्सको गठन र अभियानले ठूलो चर्चा पाएको छ। विश्लेषकहरूले यसलाई पार्टीभित्रको युवामैत्री पुनरुत्थानको संकेतका रूपमा लिएका छन्। अत्यधिक गुटबन्दी र संगठनको कमजोर संरचनाले पार्टीलाई चुनौती दिँदै आएको अवस्थामा नयाँ संगठनले युवा सदस्यहरूलाई सशक्तिकरण र जिम्मेवारी दिने दृष्टिकोण पार्टीको निर्णय प्रक्रियामा प्रभाव पार्ने सम्भावना रहेको देखिन्छ।
‘जेनजेड रेड फोर्स’ गठनले माओवादी केन्द्र निकट युवाहरूको सक्रियता देखाएको छ। पार्टीलाई चीनको कम्युनिस्ट पार्टी जस्तो संरचनात्मक र संगठनात्मक मजबुत बनाउने तिमिल्सिनाको अभियान देशभरका युवामाझ चर्चा बनिरहेको छ। आगामी घोषणापत्र र विस्तार प्रक्रिया पार्टीभित्र र बाहिर दुवै स्थानमा नयाँ राजनीतिक गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।






