काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले सिधाकुरा डटकमले आफूविरुद्ध लेखेको समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले प्रमाण, निवेदन र पुष्टि बिना समाचार प्रकाशन गर्नु पत्रकारिताको नैतिकताविरुद्ध रहेको बताएका छन्।
कार्कीले सामाजिक सञ्जालमार्फत् लेखेका छन् —
“मैले निवेदन दिएको भनेर लेखेछ, निवेदन समाचारमा छ ? छैन । समाचार लेख्दा मलाई सोधेको छ ? छैन । समाचारमा गरिएको दाबीमा न प्रमाण छ, न मबाट पुनःपुष्टि गरिएको छ । पत्रकारिताको सामान्य तर आधारभूत ज्ञानसमेत नराखी समाचार लेखिनु लाजमर्दो विषय हो कि होइन भन्ने पत्रकार र पत्रकारिताले जानोस् ।”
उनीमाथि लागेको “१२ भाइ” आरोप अस्वीकार गर्दै कार्कीले सिधाकुरा र सो आरोप लगाउनेबीचको सम्बन्धबारे पनि प्रश्न उठाएका छन्।
“१२ भाई भन्नेहरूले सिधाकुरालाई १२ भाईमै राख्छन् कि अलग्गै होला ? कि रविदाई भनेर नजिक हुने बित्तिकै १२ भाईमा परिदैन भनेर जे गरे पनि हुने हो ?” भन्दै उनले प्रश्न गरेका छन्।
त्यसैगरी, सिधाकुराका सञ्चालकहरूलाई लक्षित गर्दै उनले नीतिकथा उदाहरण दिएका छन् —
“मालिकलाई दुख दिने झिंगा खेदाउन बाँदरले तरवार चलाएर मालिककै नाक काटेको नीतिकथा सुनाउँदै सिधाकुराका मालिकका मालिकलाई भनेको थिएँ — बाँदरलाई सेवक बनाउने वा सेवकलाई बाँदर बनाउने नगर्नुहोला । बनाइहाल्नु भो भने तिनका हातमा तरवार नदिनुहोला । नत्र एकदिन ‘मन नपरेको झिंगो’ धपाउन तपाईकै नाक काट्छन् ।”
लेबी (सदस्यता शुल्क) सम्बन्धी समाचारमा गरिएको दाबीलाई पनि कार्कीले असत्य बताउँदै भनेका छन् —
“०८१/८२ को लेबी तिरेको प्रमाण कोषाध्यक्षलाई पठाएको स्क्रिनसट राखिदिएको छु । यो वर्षको लेबी आधाभन्दा बढी केन्द्रीय सदस्यहरूले जस्तै मैले पनि तिरेको छैन । पैसा भए पछि तिरौँला । तर यो वर्ष मैले लेबीसम्बन्धित कुनै निवेदन दिएको छैन,” उनले प्रष्ट पारेका छन्।
अन्त्यमा, उनले पार्टीको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गर्दै भनेका छन् —
“पार्टीसँग पैसा नभएर घरभाडा तिर्न पाइएन, पार्टीका महामन्त्री र संगठन विभागका सचिवले तलब खान पाएनन्, नेताहरूलाई यताउता गर्ने प्लेन टिकट किन्न पाइएन भन्ने सुन्नु पर्यो भने मलाई पनि दुख नै लाग्नेछ।”







