
अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को पहल र निरन्तर आग्रहपछि नेपाल क्रिकेट संघ (CAN) ले नेपाल प्रिमियर लिग (NPL) क्रिकेट प्रतियोगितामा विद्यार्थीका लागि टिकटमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। यस निर्णयसँगै विशेषगरी त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने भएका छन्।
विद्यार्थीले उठाएको मागलाई सम्बोधन गर्न CAN लाई ज्ञापनपत्र बुझाउने जिम्मा अखिल (क्रान्तिकारी) का उपमहासचिव निरोज श्रेष्ठ नेतृत्वको टोलीले लिएको थियो। विद्यार्थी परिचयपत्रका आधारमा छुटको व्यवस्था गर्नुपर्ने मागसहित सचिव पारस खड्कालाई बुझाइएको ज्ञापनपत्रले नै अन्ततः यो निर्णयको मार्ग प्रशस्त गरेको विद्यार्थी नेताहरूले बताएका छन्।
विद्यार्थीहरूले प्रिमियर लिगका टिकट दर अत्यधिक भएको र त्यसले विद्यार्थीहरूको पहुँचलाई अवरुद्ध गरिरहेको भन्दै आधा मूल्यमा टिकट उपलब्ध गराउन जोडदार माग गरेका थिए। साथै, सरकारी विद्यालयका विद्यार्थीका लागि निःशुल्क प्रवेश कोटा कायम गर्नुपर्ने प्रस्ताव पनि राखिएको थियो।
विद्यार्थी नेता अनिकेत तिवारीका अनुसार, मागलाई सकारात्मक रूपमा लिएर CAN का सचिव पारस खड्काले विद्यार्थीमैत्री कदम स्वरूप NPL टिकटमा ५०% छुट दिने निर्णय औपचारिक रूपमा स्वीकार गरेका हुन्।
ज्ञापनपत्र बुझाउने टोलीमा उपमहासचिव विपिन पोख्रेल, गजेन्द्र यादव, निरोज श्रेष्ठ, केन्द्रीय सदस्य सुरज कटुवाल, त्रि.वि. जिल्ला उपाध्यक्ष मनिष चाम्लागाई, जनप्रशासन क्याम्पस स्ववियु सभापति अनिकेत तिवारी, सरस्वती क्याम्पस अध्यक्ष राजेश बगाले, पाटन क्याम्पस अध्यक्ष दिपक राना मगरलगायत विद्यार्थी नेता किर्तिपुर क्रिकेट मैदान पुगेका थिए।






