काठमाडौं । शैक्षिक परामर्श संघ नेपाल (इक्यान) को आगामी नेतृत्वका लागि महासचिव दीपकराज भुसालले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै चुनावी माहोल तातेकाे छ। साधारण सभा तथा निर्वाचनको मिति सार्वजनिक भएसँगै भुसालले औपचारिक रूपमा अध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका हुन्।

इक्यानका अनुसार संघको साधारण सभा तथा निर्वाचन कार्यक्रम आगामी २८ पुस (१२ जनवरी) का दिन बिहान ८ बजे काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना हुँदैछ। सो अवसरमा नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइनेछ।

हाल महासचिवको जिम्मेवारी सम्हालिरहेका भुसाल शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि सक्रिय र अनुभवी व्यवसायीका रूपमा परिचित छन्। इक्यानभित्र विभिन्न तहका जिम्मेवारी निर्वाह गर्दै आएका उनले संस्थागत विकास र नीतिगत बहसमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

भुसाल एनलाइटन इन्टरनेशनल एजुकेसनका अध्यक्षसमेत हुन्। वैदेशिक शिक्षा परामर्श व्यवसायलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने अभियानमा निरन्तर सक्रिय रहँदै आएका उनले क्षेत्रको विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।

उम्मेदवारी घोषणा गर्दै भुसालले इक्यानलाई थप सुदृढ र संस्थागत बनाउँदै सदस्यहरूको हक–हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। नीतिगत सुधार, आन्तरिक सुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि उनका मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारेका छन्।

शैक्षिक परामर्श क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र विश्वासिलो बनाउने लक्ष्यसहित आफू नेतृत्वको दौडमा उत्रिएको भुसालको भनाइ छ। इक्यानलाई सदस्य–केन्द्रित, नीतिमुखी र जिम्मेवार संस्थाका रूपमा अघि बढाउने योजनासहित उनले अध्यक्ष पदमा सशक्त दाबी प्रस्तुत गरेका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय