युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीकी पूर्व-प्रवक्ता युलिया मेन्डेलले उनीमाथि सत्ताको दुरुपयोग, भ्रष्टाचार र जबर्जस्ती युद्ध लम्ब्याएको गम्भीर आरोप लगाएकी छन् । अमेरिकी सञ्चारकर्मी टकर कार्लसनसँगको विशेष अन्तर्वार्तामा बोल्दै उनले बाहिर क्यामेरामा देखिने जेलेन्स्की र वास्तविकतामा धेरै फरक रहेको बताएकी छन् ।
पूर्व-प्रवक्ता मेन्डेलका अनुसार, जेलेन्स्की भावनात्मक रूपमा अनियन्त्रित र शङ्कालु छन्, जसले शान्तिको बाटोमा सबैभन्दा ठूलो बाधकको रूपमा काम गरिरहेका छन् । सन् २०२२ मा युद्ध समाप्त गर्ने दुईवटा अवसर भए पनि उनले त्यसलाई बेवास्ता गरेको र देशमा तानाशाही लादेर आफ्ना आलोचकहरूलाई जेल हाल्ने वा मृत्युको मुख (फ्रन्टलाइन) मा पठाउने गरेको दाबी उनले गरेकी छन् ।
युक्रेन लोप हुने सँघारमा पुगिसक्दा पनि जेलेन्स्कीले आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र भ्रष्टाचारका कारण युद्धको त्रासदीलाई व्यापार बनाइरहेको उनको आरोप छ । प्रस्तुत छ, उक्त लामो वार्ताको सम्पादित अंशः
म अचम्मित छु । मैले जेलेन्स्कीको यति नजिक रहेर काम गरेको व्यक्तिसँग यसरी आमनेसामने बसेर कुरा गर्न पाउँछु भनेर कहिल्यै सोचेको थिइनँ। अझ मुख्य कुरा, तपाईं ठूलो जोखिम मोलेर यो सत्य उजागर गरिरहनुभएको छ। त्यसैले म तपाईंको यो साहसको उच्च कदर गर्छु। तपाईं वास्तवमै राष्ट्रपति जेलेन्स्कीको आधिकारिक प्रेस सेक्रेटरी (प्रवक्ता) हुनुहुन्थ्यो?
हजुर, बिल्कुल। सबैभन्दा पहिले त मलाई आफ्नो कार्यक्रममा आमन्त्रण गर्नुभएकोमा तपाईंलाई धेरै धन्यवाद। मैले पनि कुनै दिन यहाँ बसेर राष्ट्रपति जेलेन्स्कीको भित्री चरित्रका बारेमा यसरी खुला कुरा गर्नेछु भनेर कहिल्यै कल्पनासमेत गरेकी थिइनँ। मैले उहाँको सञ्चार टोलीको नेतृत्व गर्दै सन् २०१९ देखि २०२१ सम्म करिब दुई वर्षसम्म निकै नजिक रहेर काम गरेँ।
तपाईं त्यस्तो उच्च र संवेदनशील ओहोदामा कसरी पुग्नुभयो? अर्थात्, जेलेन्स्कीको मुख्य प्रवक्ता बन्ने अवसर कसरी पाउनुभयो?
सन् २०१९ मा भोलोदिमिर जेलेन्स्की राष्ट्रपति निर्वाचित भएपछि उहाँले आफ्नो मुख्य प्रेस सेक्रेटरी पदका लागि फेसबुकमार्फत खुला विज्ञापन आह्वान गर्नुभएको थियो। त्यो देखेपछि देशभरका मानिसहरूले धमाधम आवेदन दिन थाले।
सुरुमा त मलाई यसमा आवेदन दिने इच्छा थिएन । मलाई लागेको थियो कि, राजनीतिमा जस्तै उहाँले पनि आफ्नो कोही नजिकको मान्छे वा नातावाद र कृपावादको आधारमा पहिले नै कसैलाई पर्दा पछाडि छानिसक्नुभएको होला। तर पछि बुझ्दै जाँदा त्यो पूर्ण रूपमा निष्पक्ष र खुला प्रतिस्पर्धा थियो।
मैले देशैभरिका करिब ४ हजार आवेदकहरूसँग प्रतिस्पर्धा गरेँ र विभिन्न चरणका परीक्षा पार गरेँ। त्यसपछि अन्तर्वार्ताका क्रममा मैले आफूलाई प्रमाणित गर्नुपर्ने थियो कि म यो चुनौतीपूर्ण काम कुशलतापूर्वक सम्हाल्न सक्छु र राष्ट्रपतिले ममाथि पूर्ण विश्वास गर्न सक्नुहुन्छ। अन्ततः उहाँ र मबीच कार्यशैली र विचारमा एउटा साझा विन्दु फेला पर्यो र म छानिएँ।
त्यसपछि काम गर्ने क्रममा म उहाँको विचार र नीतिप्रति निकै बफादार रहेँ। मैले उहाँको कार्यकालभरि सञ्चार क्षेत्रबाट पूर्ण रूपमा समर्थन गरेँ, र पछि सन् २०२२ मा जब रुसले युक्रेनमाथि भीषण र ठूलो सैन्य आक्रमण सुरु गर्यो, त्यतिबेला पनि म उहाँकै पक्षमा दृढतापूर्वक उभिएँ।
देशका लाखौँ आम युक्रेनी नागरिकहरू जस्तै म पनि सुरुवाती संकटका दिनमा राष्ट्रपति जेलेन्स्की आफ्नो ज्यान जोगाउन विदेश नभागेर देशभित्रै बंकरमा बसेकोमा उहाँप्रति निकै आभारी र नतमस्तक थिएँ।
उहाँ कस्तो व्यक्ति हुनुहुन्छ ?
सबैभन्दा पहिलो कुरा, क्यामेरामा तपाईंले जसलाई देख्नुहुन्छ उहाँ त्यो व्यक्ति होइन। उहाँ एकदमै फरक व्यक्ति हुनुहुन्छ। उहाँले हरबखत आफ्नो चरित्र फेरिरहनुहुन्छ। उहाँ भावनात्मक रूपमा अनियन्त्रित हुनुहुन्छ, आफ्नो भावनालाई नियन्त्रण गर्न सक्नुहुन्न। उहाँ प्रायः ‘हिस्टेरिकल’ हुनुहुन्छ। उहाँ हरेक व्यक्तिलाई प्रयोग गरेर फाल्न मिल्ने (डिस्पोजेबल) ठान्नुहुन्छ। उहाँमा अभिनय गरेजस्तो समानुभूति छैन। उहाँ एकदमै उत्कृष्ट अभिनेता हुनुहुन्छ। त्यसैले हामीलाई सन् २०२२ कहालीलाग्दो, डरलाग्दो र सङ्कटपूर्ण परिस्थितिमा धेरै समर्थन दिलायो। तर उहाँको अभिनयमा कुनै वास्तविकता छैन। उहाँले भनिरहेका कुराहरू वास्तविकताभन्दा धेरै टाढा छन्। र, उहाँले बोल्ने अधिकांश कुराहरू या त छलकपट हुन्, या सन्दर्भबाट बाहिर निकालिएका तथ्य हुन्, या त विशुद्ध झुट हुन्।
लाखौँ मानिस अझै पनि जेलेन्स्कीलाई समर्थन गर्नु भनेको युक्रेनलाई समर्थन गर्नु हो भन्ने विश्वास गर्छन्। तर आज परिस्थिति फरक छ। यसको अर्थ यो होइन कि, म यहाँ रुसी आक्रमणलाई सही सावित गर्न आएकी हुँ। म यहाँ पुटिनलाई जोगाउन आएकी होइन। रुसी सेनाले युक्रेनमा जे गरिरहेको छ, त्यो मानवता विरुद्धको अपराध हो। तर यो युद्ध अब कालो र सेतो मात्र रहेन। हामी पुटिनलाई एउटा खराब व्यक्तिको रूपमा मात्र देख्छौँ। तर जेलेन्स्की पनि उस्तै खराब व्यक्ति हुनुहुन्छ। उहाँले आफ्नो कुतत्व लुकाएर राख्नुभएको छ, फरक त्यति मात्र हो। रुस-युक्रेन युद्धअघि युक्रेन आउने लगभग हरेक पश्चिमी नेता र प्रतिनिधिमण्डलले जेलेन्स्कीलाई एक प्रताडित राजनीतिज्ञको रूपमा व्यवहार गर्थे। उनीहरू उहाँलाई कम पढेको, अयोग्य र गहिराइ नभएको व्यक्ति मान्थे।
तर, त्यसपछि रातारात उहाँ लोकतन्त्रको यो महान अनुहारमा परिणत हुनुभयो। यस्तो लाग्छ- पश्चिमले यो ‘मिथ’ सिर्जना गर्यो र त्यसैको ब्यूहमा फस्यो। जेलेन्स्कीको शौर्ययुक्त भाषणको पछाडि उहाँले सत्ता कसरी कब्जा गरिरहनुभएको छ भन्ने तथ्यलाई बेवास्ता गरिरहेको छ। उहाँले तिनै मानिसहरूलाई भित्रभित्रै खोक्रो बनाइरहनुभएको छ, जसलाई उहाँ जोगाएको दाबी गर्नुहुन्छ।
त्यसैले त, आज यहाँ अन्तर्राष्ट्रिय मञ्चमा बसेर उहाँ वास्तवमा पर्दापछाडि कस्तो व्यक्ति हुनुहुन्छ र उहाँको वास्तविक अनुहार के हो भनेर विश्वसामु ओकल्नु पर्दा मलाई आफ्नै मन निकै अनौठो, पीडा र निराशाले ग्रसित भइरहेको छ ।
म स्पष्ट पार्न चाहन्छु कि उहाँसँग मेरो कुनै पनि व्यक्तिगत रिसइबी, शत्रुता वा गुनासो कत्ति पनि छैन। तर तितो यथार्थ के हो भने, उहाँ आजका दिनमा युक्रेनमा जारी यो विनाशकारी युद्ध रोक्न र शान्तिको बाटो पहिल्याउन सबैभन्दा ठूलो बाधक बनेर उभिनुभएको छ। सिङ्गो देश खण्डहर भइरहँदा पनि उहाँ आफ्नो हठ छोडिरहनुभएको छैन। त्यसैले एक जिम्मेवार नागरिक र पूर्वअधिकारी हुनुको नाताले, संसारलाई जेलेन्स्कीको यो भ्रमपूर्ण वास्तविकता र सत्य बताउनु मैले आफ्नो परम कर्तव्य ठानेर नै आज यहाँ आएकी हुँ।
यो निकै गम्भीर आरोप हो !
यदि तपाईं युक्रेनलाई समर्थन गर्न चाहनुहुन्छ भने युक्रेनलाई समर्थन गर्ने एउटै मात्र तरिका शान्ति सम्झौताको लागि दबाब दिनु हो। यो नै युक्रेनीहरू लोप हुने संघारमा छन्। अझै दुई-तीन वर्ष युद्ध चल्छ भन्ने अनुमान मानिसहरूले गरिरहेका छन्।
म सहमत छु। म युक्रेनी होइन, र म यो सबैको उद्देश्य बुझ्दिनँ। यस विषयमा धेरै प्रश्नहरू भएका छन्। तर युक्रेन एक राष्ट्रको रूपमा लोप हुँदैछ भन्ने कुरा निसन्देह छ। युरोपको सबैभन्दा ठूलो देश भएकाले यो महत्वपूर्ण विषय हो। जब तपाईंले सन् २०१९ मा जेलेन्स्कीको लागि काम गर्न सुरु गर्नुभएको बेला युक्रेनमा कति युक्रेनीहरू थिए?
आधिकारिक रूपमा, युक्रेन ४ देखि ४.२ करोड मानिसहरूको देश हो। तर हामीले अन्तिम जनगणना, सायद सन् २००० वा २००१ मा गरेका थियौँ। र, हामीले अर्को जनगणना गर्न सकेनौँ। त्यसैले जब म सरकारको लागि काम गर्दै थिएँ, जेलेन्स्कीसहित सरकारी अधिकारीहरूले उनीहरूलाई लागेको सङ्ख्या प्रयोग गर्थे: देशमा करिब ३.४ देखि ३.७ करोड युक्रेनीहरू।
जेलेन्स्कीसँग युलिया मेन्डेल
अहिले, १ करोडभन्दा बढी युक्रेनीहरू शरणार्थी बनेर पश्चिमतिर गएका छन्। कोही अधिग्राहित पूर्वी क्षेत्रमा बसेका छन्, र कोही रुसमा पनि छन्। त्यसैले सायद देशमा करिब साढे २ करोड युक्रेनीहरू मात्र बाँकी छन्।
सबैभन्दा नराम्रो कुरा के हो भने, तिनीहरूमध्ये १ करोड १० लाख त सेवानिवृत्त मानिसहरू छन्। यी निवृत्त मानिसहरू महिनाको ७५ डलरदेखि १८० वा २०० डलरसम्मको पेन्सनमा बाँचिरहेका छन्। युक्रेन महँगो देश हो। यति पैसाले बाँच्न धेरै नै गाह्रो हुने गर्छ।






