काठमाडौँ । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले राज्यबाट कुनै सहयोग नपाएपछि  फेरि मातृभूमि छाडेकाे बताएका छन्। चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको ऋण भार र अधुरो सपनाका कारण उत्पन्न समस्या समाधानका लागि राज्यबाट कुनै सहयोग नपाएपछि देश छाड्न बाध्य भएको बताएका हुन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘यो पटक त १००% हामीले न्याय पाउनेछौँ, आफ्नै माटोमा दुःख–सुख साट्नेछौँ र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौँ भन्ने ठुलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ। दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका–ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ। समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो। १८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।’

उनी थप लेख्छन्–’आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ। देशमा इमानदारीका साथ केही गरौँ, आफ्नै माटोलाई केही दिऔँ भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ। १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला।’

‘मन निकै भारी भएको छ। ओठ कापेका छन्। आँखा रसाएका छन्। तर हृदयको कुनै कुनामा आशा अझै बाँकी छ। कुनै दिन राज्यले सम्झिनेछ। समयले सत्य बोल्नेछ। हाम्रो पीडा सुनिनेछ। त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ। अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ। र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन। त्यही दिनको पर्खाइमा हामी रहनेछौँ’, उनले भनेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय