काठमाडौँ । सप्तरीमा मृत भेटिएकी २ वर्षीया नाबालिकालाई उनकै सौतेनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शम्भुनाथ नगरपालिका–३ घर भएका मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएको दुई घण्टामा मृत भेटिएकी थिइन् । घर पछाडिको झाडीमा भेटिएको शव प्रहरीले पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ ।

हत्यामा संलग्न आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका एसपी रूपक खड्काले रातोपाटीलाई बताए । मुस्कान मृतक नाबालिकाकी कान्छी आमा हुन् । मोहम्मद इरफानकी जेठी पत्नी र कान्छीको बिचमा विवाद भएको थियो । मृतकका बुवा मोहम्मद वैदेशिक रोजगारीका लागी कतारमा छन् । शनिबार दुई पत्नीको बिचमा सौता लाग्न आएको विषयमा विवाद भएको स्थानीयहरूले बताएका छन् । ‘सम्पत्तिको हकदार को हुने ?’ भन्नेबारे पनि दुई जनाको बिचमा विवाद भएको थियो ।पुर्ख्यौली घरमा इरफानका जेठी पत्नी र छोरी बस्दै आएका थिए । कान्छी पत्नी सोही ठाउँ नजिकै डेरा लिएर बस्दै आएकी थिइन् । प्रारम्भिक अनुसन्धानबाट मुस्कानले हत्या गरेको देखिएको एसपी खड्काले बताए । उनले भने, ‘घाउचोट देखिँदैन, हत्यामा एक जनाको मात्रै संलग्नता देखिन्छ ।’नाबालिका हराएको सूचना पाएपछि प्रहरीले उनको खोजतलास सुरु गरेको थियो । हत्याको विरोधमा स्थानीयले आइतबार दिउँसो केहीबेर रुपनी बजार बन्द गराए । अहिले रुपनी बजार र राजमार्गको अवरोध हटेको छ ।यसअघि भदौ २ मा बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरी मृत भेटिएकी थिइन् । साउन ३१ देखि हराएकी  गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । बालिका हराएपछि जानकारी गराउँदा पनि प्रहरीले खोजतलास र अनुसन्धानमा बेवास्ता गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेपछि इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत डीएसपी दिलीप क्षेत्रीलाई त्यहाँबाट हटाइएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यालयले सिमरामा डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ ।

बलात्कार र हत्यामा संलग्न आरोपमा प्रहरीले जितपुर सिमरा उपमहानगरपालिका–२ बस्ने १६ वर्षीय सुमन थापा र सिमरा–१ घर भएका २४ वर्षीय प्रोग्रेस चौधरीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गरिमाका परिवार र सरकारको बिचमा शनिबार गृह मन्त्रालयमा सहमति भएको छ । सहमति अनुसार सिमरामा गरिमाको सालिक बनाउन पहल गरिने छ ।

त्यस्तै, घटनापछि नागरिक अपेक्षा अनुसार कानुन संशोधन गर्नेबारे सुझाव सहितको प्रतिवेदन दिनेगरी गरिमा न्याय सङ्कल्प समिति गठन गर्ने सहमति भएको छ । गरिमाको बलात्कार र हत्यामा संलग्न आरोपी सुमन थापा ना.१ ज ७७५८ नम्बरको म्याजिकको सह चालक हुन् ।

उनले नै चकलेट दिएर फकाएर बालिकालाई घटनास्थलमा लगेर बलात्कार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बाराका एसपी नरेन्द्र कुँवरले बताएका छन् । पक्राउ परेका अर्का आरोपी म्याजिकका धनी हुन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय