अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित ‘दार एस सलाम’ मा रहेको सहरकै सबैभन्दा ठूलो फोहोरको थुप्रो (ल्यान्डफिल) भासिँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। अधिकारीहरूका अनुसार घटनामा ६ जना गम्भीर घाइते भएका छन् भने कैयौँ घर तथा सवारी साधनहरू पुरिएका छन्।
आइतबार राति २ बजेदेखि परेको अविरल वर्षाका कारण ल्यान्डफिलमा फोहोरको दबाब बढेपछि थुप्रो अचानक भासिँदा नजिकै रहेका बस्ती र टहराहरू पुरिएका हुन्।
दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा खटिएको छ। पहिरोमा परेका मानिसहरूको खोजी कार्य जारी छ भने घाइतेहरूलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको छ।
इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकृत लेफ्टिनेन्ट कर्नेल बाल्ड मामादो बैलोका अनुसार यो खुला डम्पिङ साइटलाई आइतबारदेखि नै स्थायी रूपमा बन्द गर्ने योजना थियो। स्थानीय प्रशासनले वरपरका बासिन्दालाई क्षेत्र खाली गर्न पहिले नै सूचना जारी गरिसकेको भए पनि दुर्घटनाको समयमा धेरै मानिसहरू अझै सोही स्थानमा बसोबास गरिरहेका थिए।
गिनी खनिज स्रोतका हिसाबले धनी देश हो । तर गरिबी र कमजोर पूर्वाधारका हिसाबले यो देश विश्वमै सर्वाधिक बक्साइट भण्डार भएकोमा पर्ने गर्छ ।
यहाँ फलाम, सुन र हिरा जस्ता बहुमूल्य खनिजहरू ठूलो मात्रामा पाइने भएपनि यो देशले गरिबीको सामना गर्नू परिरहेको छ । विश्व बैंकको तथ्याङ्कअनुसार देशको करिब ४३.७ प्रतिशत जनसङ्ख्या अझै पनि राष्ट्रिय गरिबीको रेखामुनि जीवन बिताउन बाध्य छ।






