झापाको विर्तामोड नगरपालिका–९ मा रामकुमार श्रेष्ठको घरमा न्वारनमा भोज खाएका ६० जनाभन्दा बढी बिरामी परेका छन् । सोमबार श्रेष्ठको नातिको न्वारन थियो । भोजमा मासु चिउरा, समुसा आदी खुवाइएको थियो । भोज खाएका अधिकांश बिरामी परेका थिए ।
न्वारनमा आएर भोज खाएका ६० जनाभन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ। बिरामीहरु मध्ये केही उपचारपछि डिस्चार्ज भएका छन् । अधिकांश अझै अस्पतालमा उपचाररत रहेका छन् बिरामी परेकाहरूको प्रादेशिक अस्पताल भद्रपुर, बिर्तामोड नगर अस्पताल र अन्य निजी अस्पतालमा उपचार भइरहेको छ ।
घटना सार्वजनिक भएपछि बिर्तामोड नगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय झापाको संयुक्त टोलीले गणेश फ्रेस हाउसको अनुगमन गरेको छ । अनुगमनका क्रममा पसलमा सरसफाइमा लापरबाही भएको भन्दै सञ्चालक गणेश श्रेष्ठलाई तीन दिनभित्र सरसफाइ सुधार गर्न अल्टिमेटम दिइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका सुभाषचन्द्र बस्तीका अनुसार बिरामी हुनुको कारण पत्ता लगाउन कुखुराको मासुसहित विभिन्न खाद्य सामग्रीको नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गरिनेछ ।
मासु पकाउँदा प्रयोग गरिएको तेलको नमुना हल्दीबारीस्थित किराना पसलबाट समेत संकलन गरिएको छ । परीक्षणको नतिजाका आधारमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने कार्यालयले जनाएको छ ।






