काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले महासचिव शङ्कर पोखरेलले तयार पारेको पार्टीको ‘शुद्धीकरण, सुदृढीकरण तथा रूपान्तरणसहितको पुनर्गठन कार्ययोजना’सम्बन्धी प्रतिवेदनको मस्यौदा अस्वीकार गरेका छन्।
गत जेठ १० गते बसेको सचिवालयको आठौँ बैठकले उक्त कार्ययोजना तयार गर्न उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो। सोही कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदालाई ओलीले अस्वीकार गरेपछि संयोजक थापा पुनर्लेखनमा जुटेका छन्।थापा नेतृत्वको कार्यदलका सदस्यसचिवसमेत रहेका महासचिव शङ्कर पोखरेलले प्रतिवेदनको मस्यौदा तयार गर्दा सातवटै प्रदेशबाट प्राप्त सुझावलाई जस्ताको तस्तै समेटेका थिए। तर, ती सुझाव समेटिएको मस्यौदाप्रति ओलीले असहमति जनाउँदै संयोजक बादललाई कि त त्यसमा संशोधन गर्न, नभए अलग्गै प्रतिवेदन तयार पार्न निर्देशन दिएका हुन्।भदौ ४ गते राति कार्यदलका संयोजक थापासहित उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरेल र सचिव भानुभक्त ढकाललगायतका नेताहरू प्रतिवेदनबारे छलफल गर्न अध्यक्ष ओलीको निवास भक्तपुरको गुण्डु पुगेका थिए। त्यस क्रममा यसअघि तयार पारिएको प्रतिवेदनका कतिपय विषयमा ओलीले असहमति जनाउँदै त्यसलाई पुनर्लेखन गर्न नेताहरूलाई निर्देशन दिएका थिए। तर, नेताहरू विष्णु पौडेल र शङ्कर पोखरेलले प्रतिवेदन पुनर्लेखन गर्न नसकिने अडान राखेका थिए। छलफलका क्रममा नेताहरूबिच भनाभनसमेत भएको थियो।‘प्रतिवेदनका सवालमा छलफल हुँदा नेताहरूबिच खुलस्त कुरा भयो’, ओलीसँगको छलफलमा सहभागी एक नेताले भने, ‘छलफल गर्ने क्रममा केही चर्को स्वर त हुने नै भयो।’
स्रोतका अनुसार प्रतिवेदनमा प्रयोग भएको ‘पुनर्गठन’ शब्दप्रति अध्यक्ष ओलीले गम्भीर आपत्ति जनाएका थिए। ‘पुनर्गठन होइन, पुनर्जागरण शब्द राख्नुपर्छ’, ओलीले कार्यदलका नेताहरूलाई निर्देशन दिँदै भनेका थिए, ‘अहिले पुनर्गठनको समय होइन, त्यो शब्द उपयुक्त हुँदैन।’
ओलीको उक्त भनाइमा संयोजक थापाले सहमति जनाएका थिए। तर, ओलीले ‘पुनर्गठन’ शब्दप्रति आपत्ति जनाएपछि उपाध्यक्ष पौडेलले भने तलबाट आएका सुझावलाई प्रतिवेदनमा समेटिएको र कार्यदल बन्दा नै ‘पुनर्गठन कार्ययोजना’ भनिएकाले उक्त शब्द परिमार्जन गर्न नहुने अडान लिएका थिए।
‘आएका सुझाव जस्ताको तस्तै राख्नु प्रतिवेदनको विशेषता र मौलिकतासमेत हो। त्यसैले पुनर्लेखन गर्दा आम नेता–कार्यकर्ताको भावनाविपरीत हुन्छ’, नेता पौडेल र पोखरेलको उस्तै जवाफ थियो। छलफलका क्रममा अध्यक्ष ओलीले भने कार्यदलको प्रतिवेदन पार्टीलाई कमजोर बनाउने खालको नभई एकताबद्ध र सुदृढ बनाउने गरी आउनुपर्ने धारणा राखेका थिए।
त्यसको जवाफ दिँदै पार्टीलाई एकताबद्ध बनाउने विषयमा आफूहरूको कुनै मतभेद नभए पनि कार्यकर्ताको भावना छुट्न नहुनेमा पौडेल र पोखरेलको जोड थियो। उनीहरूले आफ्नो अडान नछाडेपछि अध्यक्ष ओलीले बादललाई अन्तिम प्रतिवेदन तयार गरेर पेस गर्न निर्देशन दिएका थिए।
‘प्रतिवेदन संयोजकले पेस गर्ने हो। संयोजकले पुनर्लेखन गर्ने हो वा अलग बनाउने हो, तयारी गर्नुस्’, ओलीको निर्देशन थियो। ओलीको यस्तो निर्देशनपछि बादल भदौ ५ गतेदेखि अलग्गै प्रतिवेदन लेखनमा जुटेका छन्। यदि बादलले छुट्टै प्रतिवेदन बनाएमा पौडेल र पोखरेल पक्षले पनि सुझावसहितको आफ्नो प्रतिवेदन पेस गर्ने तयारी गरेका छन्।
एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले कार्यदलले प्रतिवेदनलाई अन्तिम रूप दिएपछि सचिवालय हुँदै केन्द्रीय कमिटीको बैठक बस्नेबारे नेताहरूबिच छलफल भइरहेको जानकारी दिए।
‘केही समयभित्रै कार्यदलको बैठक बस्ने, त्यसपछि सचिवालय र भदौभित्र केन्द्रीय कमिटीको बैठक बस्ने तयारी हुँदैछ’, आचार्यले भने, ‘यसका लागि नेताहरू सरसल्लाहमै हुनुहुन्छ।’
- ‘पुनर्गठन’ शब्द दुरुपयोग गरेर अध्यक्ष हटाउने हल्ला
एमालेभित्र पार्टी पुनर्गठनको बहस भइरहेका बेला अध्यक्ष ओलीले भने ‘पुनर्गठन’ शब्दलाई केही व्यक्तिले दुरुपयोग गरेको भन्दै आक्रोश पोखेका छन्। गुण्डुमा नेताहरूसँगको छलफलमा अध्यक्ष ओलीले ‘पुनर्गठन–पुनर्गठन’ भनेर अनेक हल्ला चलाइएको भन्दै महासङ्कटको परिस्थितिमा मात्र पार्टी पुनर्गठन हुने कुरा सबैले बुझ्नु जरुरी रहेको बताएका थिए।
नेपालको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा विगतमा २०१९, २०२८ र २०७७ सालमा पार्टी पुनर्गठन गरिएको स्मरण गराउँदै अहिले पार्टी पुनर्गठनको आवश्यकता र औचित्य नरहेको ओलीको दाबी थियो।
‘कसैले पनि सीमाबाहिर गएर स्वेच्छाचारी ढङ्गले दृष्टिकोण राख्ने स्थिति हुनुहुँदैन। कुनै पनि विषयमा आफ्ना दृष्टिकोण राख्ने समय हुन्छ, नेतृत्वको विषयमा पनि आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने समय हुन्छ’, भन्दै अध्यक्ष ओलीले पार्टीको विशेष महाधिवेशन वा प्रतिनिधि परिषद् बैठकको कुरा पनि ‘बेमौसमी बाजा’ भएको टिप्पणी गरेका थिए।
‘महासङ्कटको परिस्थितिमा मात्र पुनर्गठन हुन्छ’, अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यतिबेला पार्टीको अभिभारा देशलाई प्रतिगमनबाट संवैधानिक बाटोमा फर्काउने हो।’ ‘पुनर्गठन’ शब्दको दुरुपयोग गर्दै अध्यक्ष हटाउने भनेर हल्ला चलाउनेहरूलाई कारबाही गर्नेतर्फ ओलीको सङ्केत थियो। गुण्डु छलफललगत्तै अध्यक्ष ओलीले भदौ ७ गते आइतबार एमाले अनुशासन आयोगको बैठक राख्न आयोगका अध्यक्ष भरत पहारीलाई निर्देशन दिएका थिए।






