काठमाडौँ । चीनको ल्हेन्दे खोलामा आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूलीतर्फ आइरहेको छ ।
बाढीका कारण सडकमा जोखिम हुनसक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले धादिङ, रसुवा र चितवनतर्फ जाने सवारीलाई काठमाडौँमा रोकेको छ ।
काठमाडौंको नागढुंगा र भीमढुंगा नाका प्रयोग गरेर बाहिरिने सवारीसाधनलाई बाहिरिनबाट रोकिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले सत्य सम्वादलाई बताए । उनले भने, ‘जोखिमका कारण त्यसतर्फ जान लागेको सवारीलाई नजान भनिएको छ ।’
यातायात व्यवसायीहरूलाई पनि त्यसतर्फ सार्वजनिक सवारी नपठाउन आग्रह गरिएको एसपी सुवेदीले बताए । उनले भने, ‘हामीले यातायात व्यवसायीहरूलाई पनि नागढुंगा र भीमढुंगातर्फबाट चितवन र धादिङतर्फ सवारी नपठाउन अनुरोध गरेका छौँ ।’
त्यसतर्फ चल्ने चारपाङ्ग्रे निजी सवारी र दुईपाङ्ग्रे सवारीसाधनलाई पनि ट्राफिक प्रहरीले रोकेको छ ।






