काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहले आफूहरूको सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गएको बताएका छन् ।
प्रतिनिधिसभाकाको बैठकमा बोल्दै उनले तीन वर्षीय बालिकाको बलात्कारपछिको घटना र सप्तरीको बालिकाको हत्याको घटनाले मर्माहत बनाएको बताए ।
‘यो हाम्रो समाज, यो देश कता गइरहेको छ ?’ उनले प्रश्न गरे ।
यहाँनेर उनले सरकारसँग जनताको विश्वासको कुरा जोडेका हुन् ।
‘यो दुइटा घटनालाई मात्रै हेर्न मिल्दैन । हाम्रो सरकार बनेदेखि चाहे कप्तानगञ्जको घटना होस्, धार्मिक र सामाजिक सद्भावको कुरा होस् । या बिभिन्न किसिमका आन्दोलन होस् । मिटरब्याज पीडितको होस्, लघुवित्त पीडितको होस् चाहे डाक्टरको होस् दिनका दिन भइरहेको छ’ सांसद सिंहले भने, ‘यसले के देखाउँछ कि, हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ ।’
अराजकता, अस्थिरता, हत्या, हिंसा, बलात्कार जस्ता घटना बढेको भनेर उनले सरकारको ध्यानाकर्षण गरे । यी घटना र बिभिन्न आन्दोलनका घटनाले नेपाली जनता दुःखमा रहेको देखाउने पनि उनले बताए ।
जब समाजमा बेतिथी हुन्छ, विश्वास र भरोसा टुट्छ त्यो समाजमा अपराध बढ्ने उनले बताएका छन् ।






