काठमाडौँ। सङ्घीय संसद्मा प्रधानमन्त्री बालेन्द्र शाहसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका ११ जना सांसदले आफ्ना प्रश्न दर्ता गराएका छन्।
नियमावलीअनुसार दलीय उपस्थितिका आधारमा १५ जना सांसदले प्रश्न सोध्न पाउने व्यवस्था भए पनि हालसम्म ११ जनाले मात्रै नाम टिपाएका हुन्।प्रतिनिधि सभाको नियमावलीअनुसार बाँडफाँट गरिएको कोटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना चार वटा कोटामा अझै नाम दर्ता गराएको छैन। बाँकी दलहरूबाट भने प्रश्नकर्ताहरूको टुङ्गो लागेको छ।प्रश्न दर्ता गराउनेमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंह कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति समीक्षा बास्कोटा र अर्थ समितिका सभापति कृष्णहरि बुढाथोकी छन्।संसद् सचिवालयका अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रमुख सचेतक वासना थापा र सांसद गीता गुरूङले प्रश्न दर्ता गराएका छन्।
त्यसैगरी, नेकपा एमालेका तर्फबाट प्रमुख सचेतक ऐनबहादुर महर र सांसद गणेश सिंह ठगुन्नाले नाम टिपाएका छन्। नेपाली कम्युनिस्ट पार्टीका सांसद वर्षमान पुन र प्रमेशकुमार हमालले पनि प्रश्न दर्ता गराएका छन्।
श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले प्रश्न सोध्ने गरी नाम दर्ता गराएका छन्।
रास्वपाले आफ्ना तर्फबाट चार जना सांसदको नाम पठाउन बाँकी रहेकाले हालसम्म ११ जनाको मात्रै सूची तयार भएको सचिवालयले जनाएको छ।






