काठमाडौं । रसुवामा गएको भीषण बाढी र त्यसले पुर्याएको धनजनको क्षतिका कारण आजका लागि तय भएका संघीय संसदका पाँचवटा संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज भाद्र ११ गते पाँचवटा समितिका बैठकहरू डाकिएका थिए । तर, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा बाढीले निम्त्याएको संकटकालीन अवस्थालाई मध्यनजर गर्दै संसदीय समितिका बैठकहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।
सचिवालयका अनुसार अर्थ समिति बैठक बिहान साढे १० बजे, कानुन, न्याय तथा मानव अधिकार समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बिहान १० बजेका लागि बोलाइएको थियो । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बिहान साढे ११ बजेका लागि बोलाइएको थियो ।
रसुवामा आएको बाढीका कारण उत्पन्न परिस्थितिले गर्दा सांसदहरू र सम्बन्धित निकायका प्रतिनिधिहरू प्रभावित क्षेत्रको अनुगमन र राहत कार्यमा केन्द्रित हुनुपर्ने भएकाले बैठकहरू स्थगित गर्नुपरेको सचिवालयले जनाएको छ ।






