काठमाडौँ। नााडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा भएको ठुलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
यस राष्ट्रिय विपद्को घडीमा राज्यको उद्धार र राहत कार्यमा सघाउन नाडाले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीद्वारा जारी प्रेस विज्ञप्तिमा विपद्को सामना गर्न सरकार, निजी क्षेत्र र आम नागरिकको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ।विज्ञप्तिमा विपद् व्यवस्थापन र सूचना प्रवाहमा सक्रिय भूमिका निर्वाह गर्ने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको उच्च कदर गर्दै नाडाले सम्पूर्ण अटोमोबाइल व्यवसायीहरूलाई एकजुट भएर सहयोगमा जुट्न आह्वान गरेको छ।यसैबिच मुलुकको आर्थिक गतिविधिलाई चलायमान राख्दै विपद्को सामना गर्नुपर्ने अवस्था रहेकाले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई निरन्तर सञ्चालन गरिने नाडाले प्रस्ट पारेको छ। नाडाले मृतकतर्फ श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राज्यसँग काँधमा काँध मिलाएर उभिने प्रतिबद्धता समेत जनाएको छ।






