काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले वस्तुको प्रत्यक्ष बिक्री (डाइरेक्ट सेलिङ) का लागि प्रस्ताव गरिएका केही नयाँ वस्तु नेपालमै उत्पादन हुने वा नहुने यकिन गर्न १५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।

ललितपुरस्थित न्यु विवेक इन्टरप्राइजेज प्रालिले ‘वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४’ बमोजिम थप नयाँ वस्तु प्रत्यक्ष बिक्री तथा वितरणका लागि अनुमति माग गर्दै विभागमा निवेदन दिएपछि विभागले उक्त कदम चालेको हो ।

कानुनी व्यवस्था अनुसार नेपालमै उत्पादन हुने वा मिल्दोजुल्दो प्रकृतिका स्वदेशी वस्तु विस्थापित गर्ने गरी विदेशी सामान प्रत्यक्ष बिक्री अनुमति दिन मिल्दैन ।

वस्तुको प्रत्यक्ष बिक्री सम्बन्धी निर्देशिका २०७८ ले नेपालमा उत्पादन नहुने वस्तुमात्र यस्तो प्रणालीबाट बिक्री गर्न पाइने व्यवस्था गरेको छ ।

कम्पनीले प्रस्ताव गरेका वस्तु नेपालमा उत्पादन हुन्छन् वा हुँदैनन् भन्ने विषयमा सम्बन्धित निकायबाट यकिन गर्न नसकिएपछि विभागले सरोकारवालासँग जानकारी मागेको हो ।

विभागका अनुसार सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र ती वस्तु वा त्यससँग मिल्दोजुल्दो वस्तु नेपालमै उत्पादन हुने भए स्वदेशी उद्योगी वा सरोकारवालाले सप्रमाण दाबी पेस गर्नुपर्ने छ ।

न्यु विवेक इन्टरप्राइजेजले अनुमति मागेका वस्तुमा व्यक्तिगत उपयोग अन्तर्गतका दुई र खाद्य तथा पेय पदार्थ अन्तर्गतका दुई वस्तु छन् ।

कम्पनीले ‘गानोझी प्लस टुथपेस्ट’, ‘डीएक्सएन गानोझी साबुन’, ‘डीएक्सएन कोम्बुचा चिया’ र ‘डीएक्सएन राइस ब्रान आयल’ को बिक्री अनुमति मागेको हो ।

विभागले तोकेको १५ दिनको म्यादभित्र स्वदेशी उत्पादकबाट यी वस्तु नेपालमै उत्पादन हुने प्रमाण सहित दाबी नपरे न्यु विवेक इन्टरप्राइजेजलाई यी वस्तु प्रत्यक्ष बिक्री प्रणाली मार्फत नेपालमा आयात गरी बेच्न कानुनी बाटो खुल्ने छ ।

स्वदेशी उद्योग र उत्पादन संरक्षण गर्ने उद्देश्यले विभागले यस्तो दाबी–विरोधको सूचना प्रकाशन गरेको जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय