काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवा आफ्नो जीवनको महत्त्वपूर्ण समय र पौरख जोडिएको ठाउँ भएकोले यहाँ बाढीले पुर्याएको क्षतिले मर्माहत बनाएको बताएका छन् ।
बाढीमा भएको मानवीय र भौतिक क्षतिले मन भारी भएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै उनले भनेका छन्– ‘अब मानव जीवन बचाउने काम प्राथमिकतामा पर्नुपर्दछ ।’
राहत र पुरस्थापना सरकारको मात्र जिम्मेवारी नभएको भन्दै उनले सबै राजनीतिक दल, देश विदेशमा रहेका समाजसेवीले सहयोग गर्नुपर्नेमा जोड दिए ।
हाइड्रो, सडक र संरचना निर्माणलाई प्राथमिकता राख्न पनि उनले सरकारलाई सुझाव दिएका छन् । बाढीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले प्रभावितलाई धैर्यधारण गर्न आग्रह गरेका छन् ।






