काठमाडौँ । रसुवा बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको चार दिनसम्म पनि उद्धार हुन नसकेपछि विपद् विज्ञहरूले अन्तर्राष्ट्रिय सहयोग लिन सरकारलाई सुझाव दिएका छन्।

स्वदेशी जनशक्ति, प्रविधि र स्रोतसाधनले नभ्याउने भए अप्ठ्यारो नमानी विदेशी मित्रहरूसँग सहयोग माग्नुपर्ने उनीहरूको भनाइ छ।विपद् विज्ञ डा. गंगालाल तुलाधरले विपद् व्यवस्थापनमा सरकार र सेनाका क्रियाकलापहरू प्रशंसनीय भए पनि सुरुङ उद्धारमा प्राविधिक क्षमता नपुग्न सक्ने बताएका छन्। अन्तर्राष्ट्रिय क्षेत्रमा सुरुङ उद्धार सम्बन्धी विज्ञता भएका जापान, चीन, भारत लगायतका देशहरूसँग तत्काल सहयोग मागेर मानवीय उद्धारमा तदारुक हुन उनले सरकारसँग आग्रह गरे। ‘हामीसँग प्रविधि र मानव स्रोत छैन भने अप्ठ्यारो नमानीकन विदेशी मित्रहरूसँग हात फैलाउनै पर्छ,’ उनले भने, ‘सुरुङमा फसेका मान्छे उद्धार गर्ने असाध्यै राम्रो अनुभव भएका देशहरूसँग अनुरोध गर्नुपर्छ।’

वाह्य सहयोग व्यवस्थापन गर्दा आवश्यक सामग्रीको आधारमा ध्यानपूर्वक कुराकानी गर्नुपर्ने र २०७२ को भूकम्प जस्तै अनावश्यक सामग्री आउन नदिन सचेत हुनुपर्नेमा उनले जोड दिए। सुरुङमा फसेकाहरूलाई अझै पनि जीवितै उद्धार गर्न सकिने सम्भावना रहेकाले मानवीय उद्धारलाई पहिलो प्राथमिकतामा राख्न उनले माग गरे।

त्यसैगरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका पूर्वकार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले सुरुङभित्र हुने दुर्घटनाको उद्धारका लागि आवश्यक प्राविधिक विज्ञता नेपालमा अझै विकास भइनसकेको बताएका छन्। चार दिन बितिसक्दा पनि मानिसहरू सुरुङभित्रै अड्किएकाले ढिला नगरी छिमेकी मुलुकहरूसँग सहयोग माग्नुपर्ने अवस्था आएको उनको भनाइ छ।

‘हाम्रो क्षमताले नभ्याउने अवस्थामा अन्तर्राष्ट्रिय सहयोग लिन ढिला गर्नु हुँदैन,’ उनले भने, ‘चीन र भारतजस्ता छिमेकी देशसँग टनेल तथा खानी दुर्घटनामा उद्धारको अनुभव भएकाले उनीहरूको सहयोग लिनुपर्छ।’

विज्ञद्वयले जीवन बचाउने विषयमा सहयोग लिन हिचकिचाउन नहुने भन्दै कुटनीतिक र प्राविधिक दुवै तवरबाट छिटो पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय