काठमाडौं । सर्वनाम थिएटरमा लौहपुरुष गणेशमान सिंहको जीवनीमा आधारित नाटक ‘वीर गणेशमान’ नाटकको प्रिमियर गरिएको छ । सो अवसरमा सिंहका छोरा तथा कांग्रेस नेता प्रकाशमान सहभागी थिए ।

नाटक हेरेपछि बोल्दै नेता सिंहले नेपालमा पूर्ण प्रजातन्त्र कसरी आयो र त्यसमा गणेशमानको योगदान कस्तो थियो भन्ने यथार्थ बुझ्न युवा पुस्ताले नाटक अनिवार्य हेर्नुपर्ने बताए ।

आजको पुस्ताले राजनीतिक परिवर्तन सजिलै प्राप्त भएको हो भन्ने कमजोर बुझाइ राख्न नहुने भन्दै उनले इतिहासको वास्तविक मूल्य थाहा पाउन सबैलाई नाटक हेर्न आग्रह गरे ।

शोमा कलाकर्मी, राजनीतिक विश्लेषक, साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी थिए । गणेशमान सिंह फाउण्डेसनको आयोजना र सर्वनामको प्रस्तुति रहेको नाटकले १०३ वर्ष लामो राणाशासनविरुद्ध नेपाली नागरिकलाई अधिकार दिलाउन गणेशमानले गरेको साहसलाई मञ्चमा प्रस्तुत गरेको छ ।

राणा शासकद्वारा सर्वस्वहरणसहित जन्मकैदको सजाय पाएका गणेशमानले भद्रगोल जेलको पर्खाल नाघेर भाग्न सफल भएको घटनालाई नाटकमा मार्मिक ढङ्गले उतारिएको छ । २०४६ सालको जनआन्दोलन सफल भएपछि आफूलाई प्राप्त प्रधानमन्त्रीको पदसमेत सहर्ष त्याग गर्दै ‘सत्ताभन्दा माथि निष्ठा हुन्छ’ भन्ने उच्च आदर्श र त्याग प्रस्तुत गरेको ऐतिहासिक क्षणलाई पनि नाटकले मुख्य विषयवस्तु बनाएको छ ।

वरिष्ठ रंगकर्मी अशेष मल्लको परिकल्पना, नाट्य रूपान्तरण र निर्देशन रहेको नाटकमा सिंहको मुख्य भूमिकामा अभिनेता अभयराज बरालले अभिनय गरेका छन् । निर्देशक मल्लले आफ्नो ५० वर्ष लामो नाट्ययात्रामा बिम्ब र प्रतीकको शैलीलाई छोडेर यसपटक पहिलोपटक यथार्थपरक प्रस्तुति अँगालेको उल्लेख गरेका छन् ।

दुई घण्टा अवधिको नाटकले एउटा नेताको जीवनी मात्र नभई नेपाली इतिहासको महासंग्राम र एउटा निष्ठावान योद्धाले ‘लौहपुरुष’ बन्ने क्रममा भोगेका मानसिक तथा शारीरिक संघर्षलाई कलात्मक रूपमा स्पर्श गरेको छ । प्राडा सावित्री कक्षपतीको स्क्रिप्ट सम्पादन यसमा छ ।

यो नाटक आगामी १४ असोजसम्म मञ्चन हुनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय