काठमाडौँको कीर्तिपुरस्थित भङ्गालमा बाटोमा हिँडिरहेका महिलाहरूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको केदारस्यूँ गाउँपालिका घर भएर कीर्तिपुर बस्ने २२ वर्षीय सत्यराज खत्री, कञ्चनपुर घर भएका २२ वर्षीय ललित दमाई र कञ्चनपुरको कृष्णपुर–३ घर भएर कीर्तिपुर बस्दै आएका २१ वर्षीय अशोक भण्डारी छन् ।
भदौ १२ मा साँझको समयमा कीर्तिपुरको भाजङ्गल क्षेत्रमा एउटै मोटरसाइकलमा चढेको उनीहरूले बाटोमा हिँडिरहेका महिलाहरूलाई पछ्याएर फोन नम्बर माग्दै अश्लील शब्द प्रयोग गरेका हुन् । उनीहरू सुदूरपश्चिम प्रदेश–००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार थिए । पीडित महिलाहरूले उनीहरूले गरेको हर्कतको भिडियो कैद गरेर सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले त्यसबारे अनुसन्धान थालेको थियो ।उनीहरूलाई आइतबार कीर्तिपुरको विष्णुदेवी मन्दिर क्षेत्रबाट पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले रातोपाटीलाई बताए ।







