काठमाडौँ । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका कारण हुने विपद्बाट नेपालजस्ता जोखिममा रहेका मुलुकले भोग्नुपरेको क्षतिको पूर्ति विकसित मुलुकले गर्नुपर्ने बताएका छन् ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले राजधानी प्रदेश कमिटीले बाढीपीडितका लागि हस्तान्तरण गरेको १० लाख रुपैयाँको चेक ग्रहण गर्दै उनले जलवायु तथा पर्वतीय विपद्मा नेपालको कुनै योगदान नरहेको दाबी गरेका हुन् । वातावरण विनाशमा बढी भूमिका खेल्ने विकसित देशले नै त्यसको क्षति व्यहोर्नुपर्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति धन्यवाद दिँदै उनले जलवायु क्षतिपूर्तिको विषयलाई प्राथमिकताका साथ उठाउनुपर्नेमा जोड दिए। उनले भने, ‘अन्तर्राष्ट्रिय मित्रहरूले ४०–५० करोडको सहयोग गर्नुहोला। तर त्यति सहयोग त हाम्रो एक घर वा कार्यालय बगाउँदा नै भौतिक क्षति भएको छ।’यो केवल दया वा करुणाको विषय मात्र नभएको उल्लेख गर्दै उनले थपे, ‘कार्बन उत्सर्जनमा योगदान नगरेर न्यूनीकरणमा सहयोग गर्ने देशलाई दिइने रकम अधिकारका रूपमा स्थापित हुँदै आएको छ। यसमा हामीले दाबी गर्नुपर्छ।’

भोटेकोशीको बाढीलाई उनले विश्वव्यापी वातावरणीय सङ्कटको गम्भीर सङ्केतका रूपमा लिन आग्रह गरे। यसै सन्दर्भलाई केन्द्रमा राखेर नेपालले अविलम्ब सगरमाथा संवाद आयोजना गर्नुपर्ने उनको सुझाव छ।

उनले भने, ‘यो भोटेकोशीको बाढी मात्र नभई ‘ग्लोबल फेनोमेनन’ र ‘इन्भायरमेन्टल फेनोमेनन’ मा परेको गम्भीर धक्का हो। यसलाई चेतावनीका रूपमा बुझ्न म विश्व समुदायलाई आग्रह गर्छु।’

बाढीपछि सरकारले खोज, उद्धार र राहतको काम प्रभावकारी रूपमा गर्न नसकेको भन्दै उनले असन्तुष्टि जनाए। केही मन्त्री तथा सांसदहरू नागरिकलाई हप्काउने, आधारहीन निर्देशन दिने र समस्या थप्ने काममा मात्र लागेको आरोप उनले लगाए।

उद्धारका लागि निजी क्षेत्रका हेलिकप्टर प्रयोगमा सरकारले रोक लगाएकोमा आपत्ति जनाउँदै उनले एमालेका कार्यकर्ता भने प्रभावित क्षेत्रमै खटिएर काम गरिरहेको दाबी गरे।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय