काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

सोमबार सिंहदरवारमा आयोजित बैठकमा बोल्दै मन्त्री लम्सालले उद्धार र राहतको चरणसँगै अब पुनर्निर्माणको प्रक्रियामा प्रवेश गर्नुपर्ने बताए ।

मन्त्री लम्सालले राष्ट्रिय योजना आयोग, मुख्य सचिव र विज्ञ सुशील ज्ञवालीसहितको टोलीलाई विद्यमान ऐन कानूनको परिधिभित्र रहेर कार्यढाँचा तयार पार्न निर्देशन दिएका हुन् ।

नयाँ संरचना खडा गर्दा समय लाग्ने भएकाले हालकै कानूनी व्यवस्थालाई टेकेर विगतको पुनर्निर्माण प्राधिकरण जस्तै शक्तिशाली र प्रभावकारी ढङ्गले काम गर्नसक्ने संयन्त्रको परिकल्पना गर्न उनले आग्रह गरे ।

मन्त्री लम्सालले विपद्को समयमा प्रमुख जिल्ला अधिकारीको कार्यालय र विपद् व्यवस्थापन प्राधिकरण स्वत: क्रियाशील हुनुपर्नेमा त्यसो हुन नसकेको भन्दै चासो व्यक्त गरे ।

‘तीन दिनभित्र हामीले कार्यढाँचा पेश गर्नुपर्छ । त्यो तपाईंहरुले तयार गरिदिनुस्,’ उनले भनेका छन्, ‘विगतमा कहाँ र के कारणले कमजोरी भयो, त्यसको सुक्ष्म अध्ययन गरी ऐन कानूनमा गर्नुपर्ने परिमार्जनका बारेमा योजना आयोगले खाका तयार पार्नुपर्छ ।’

भविष्यमा आइपर्ने जुनसुकै विपद्मा पनि राज्यका संयन्त्रहरू कसैको निर्देशन नपर्खी स्वचालित रूपमा उद्धार र पुन:स्थापनामा खटिन सक्ने गरी संयन्त्र बनाउनुपर्नेमा उनले जोड दिए ।

पुन:र्निमाणका लागि आवश्यक विभिन्न कार्यदलहरू गठन गरी तिनको कार्यक्षेत्र र जिम्मेवारी समेत तोकिने मन्त्री लम्सालले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय