काठमाडौं । रसुवाको स्याफ्रुबेशी र टिमुरेबाट उद्धार गरिएका करिब ३०० बाढीपीडितलाई काठमाडौंको नागार्जुन नगरपालिका-२ स्थित येलो गुम्बामा राखिएको छ ।

उक्त क्षेत्रका बाढीपीडितलाई गत शुक्रबारदेखि येलो गुम्बामा राख्न थालिएको हो । उक्त गुम्बामा पहिलो दिन ६२ जनालाई ल्याइएकोमा अहिले करिब ३०० जना छन् ।

शनिबार र आइतबार अस्थायी बसोबासका लागि येलो गुम्बामा आउने पीडितहरूको संख्या बढे पनि सोमबारदेखि बढ्ने क्रम रोकिएको व्यवस्थापनमा खटिएका स्वयंसेवीहरूले बताए ।

रसुवाको बढी प्रभावित क्षेत्रबाट बाढीपीडितहरू ल्याएर येलो गुम्बामा राखिएको थाहा पाएसँगै सहयोग गर्नेहरूको लर्को लागेको छ । व्यक्ति, संस्था, व्यवसायी, कलाकार, उद्यमी लगायतले पीडितलाई बसोबासका लागि आवश्यक पर्ने सामग्रीहरू उपलब्ध गराएका छन् ।

बाढीपीडितका लागि गुम्बामै पकाएर खुवाउने व्यवस्था गरिएको छ । मेसको व्यवस्थापन स्वयंसेवकका रूपमा कलाकार रविन्द्रसिंह बानियाँले गरेका छन् ।

सरकारको तर्फबाट हालसम्म १० वटा ग्यास सिलिन्डर उपलब्ध गराइएको छ । खानाको लागि आम नागरिक, व्यवसायी, उद्यमी, कलाकार लगायतबाट आवश्यक सामग्री सहयोग भएको छ ।

बच्चादेखि वृद्धसम्मलाई गुम्बामा राखिएको छ । उनीहरूको स्वास्थ्य उपचारका लागि आधा दर्जन स्वास्थ्यकर्मीको टोली खटिएको छ । गुम्बाको गेटसँगै उपचार केन्द्र स्थापना गरी आवश्यक उपचारको व्यवस्था मिलाइएको छ ।

डा. रामजी रामको नेतृत्वमा स्वास्थ्यकर्मीहरू बाढीपीडितको उपचारमा खटिएका छन् । गुम्बामा उपचार हुन नसक्ने बिरामीहरूलाई अस्पतालमा रिफर गर्ने गरिएको छ ।

‘नियमित औषधि खानुपर्ने वृद्धहरू पनि हुनुहुन्छ,’ ‘आफूले खाने औषधि थाहा नहुने वृद्धहरूलाई समेत यहाँ ल्याइएको छ । स्वास्थ्यको सबै परीक्षण गरी उहाँहरूले खाने औषधिको व्यवस्था गरेका छौं ।’

रसुवाको स्याफ्रुबेशी र टिमुरेका बाढीपीडितलाई येलो गुम्बामा ल्याएर राख्ने तदरुकता त्यहीँका स्थानीयले गरेका थिए । ती क्षेत्रका करिब २० युवाले स्वयंसेवीका रूपमा व्यवस्थापनको जिम्मेवारी लिएर गुम्बामा बाढीपीडितलाई राखेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय