काठमाडौँ। भोटेकोशी विपद्पछिको उद्धार, राहत र भौतिक पुनर्निर्माणका सम्बन्धमा नेपाली कांग्रेसले बुद्धिजीवी तथा प्राविधिक विज्ञहरूसँग छलफल गरेको छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पूर्वाधार विकास अवधारणा, संवाद र दृष्टि उपसमितिको आयोजनामा सोमबार ललितपुरस्थित बी.पी. स्मृति भवनमा सो छलफल भएको हो ।छलफलमा सहभागी वरिष्ठ इन्जिनियर, योजनाविद् र प्राज्ञिक विज्ञहरूले कठिन भौगोलिक क्षेत्रमा रहेका जलविद्युत् सुरुङमा फसेकाहरूको उद्धारमा सरकारले देखाएको तत्परताको परिणाम शून्य रहेको बताए । उनीहरूले हराइरहेका र फसेकाहरूको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग लिन नियतवश ढिलाइ गरिएको र स्थापित प्राविधिक विज्ञहरूको सट्टा केवल सुरक्षा निकायलाई मात्र परिचालन गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

विज्ञहरूले राज्यका निकायहरू परिचालन भएको देखिए पनि प्रदेश र स्थानीय सरकारलाई नियोजित रूपमा सहकार्यबाट बाहिर राखिएको बताए ।

राहत वितरण, पहुँच र सञ्चारकाबिच समन्वय नहुँदा पीडित नागरिकले राहत पाउन नसकेको र सूचना प्रवाहमा राजनीतिकरण गरिएको ठहर छलफलले गरेको छ ।

यस्तै, सरकारले सत्तारूढ दल सम्बद्ध जनशक्तिलाई मात्र विज्ञका रूपमा लिँदा अन्य दक्ष जनशक्तिको अवमूल्यन भएको सहभागीहरूले बताए ।

छलफलमा प्रा. डा. इन्द्र आचार्य, पवन भट्टराई, सुवासचन्द्र बराल, लक्ष्मण के.सी., डा. मुकेश काफ्ले, दिनेश भट्ट, विनोद देवकोटा, सुदर्शन भण्डारी, गोपाल निउरे, उमेश धिताल र कागडा प्रसाईं लगायतका इन्जिनियरहरूको सहभागिता थियो । उनीहरूले सरकारलाई भेदभाव रहित ढङ्गले दक्ष जनशक्ति र आधुनिक उपकरण परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिन र स्थानीय सरकारको व्यापक परिचालन गर्न सुझाव दिएका छन् ।

कार्यक्रमको समापन गर्दै प्रतिष्ठानका उपप्रमुख विश्वप्रकाश शर्माले विपत्तिको घडीमा मानवीय ढङ्गले काम गर्न सरकारलाई आग्रह गरे ।

उनले यसलाई राजनीतिक उपयोगको विषय नबनाउन सचेत गराउँदै सही ढङ्गले उद्धार, राहत र पुनर्स्थापनाका लागि आवश्यक दबाब सिर्जना गर्ने बताए । उपसमितिका संयोजक इन्जिनियर अमृत ज्ञवालीले कार्यक्रम सञ्चालन गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय