काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले साउदी अरबबाट १ सय ९१ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरबले अब्दुल वाहिदको अर्धशतकीय पारीको मद्दतमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९० रन बनाएको हो ।
साउदीका लागि वाहिदले ८९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ७७ रन बनाए । यस्तै मोहम्मद अतिफले ३०, मोहम्मद हिसम शैदले २८ र जैन उबिदीले १२ रन जोडे ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे। उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चेर ३ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। शेर मल्ल र गुल्शन झाले समान १ विकेट आफ्नो नाममा लेखाए ।
नेपालले प्रतियोगितामा यसअघि बहराइन र मलेसियालाई पराजित गरिसकेको छ ।







