नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन सुरू गर्नुअघि पार्टीभित्रको मतभेद मिलाउन अन्तिम प्रयास सुरू गरेका छन्।

यसअन्तर्गत सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्।

कांग्रेसका एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार सभापति थापा र निवर्तमान कार्यवाहक सभापति खड्काबीच शनिबार बेलुकी भेटवार्ता भएको थियो। भेटवार्ता सकारात्मक रहेको उनले बताए।

सभापति थापाले आज बिहान ११ बजे नेता शेखर कोइरालासँग भेटवार्ता गरेका छन्। खड्का र कोइराला गत पुसको विशेष महाधिवेशनमा सहभागी थिएनन्।

विशेष महाधिवेशनमा सहभागी नरहेका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले भने बेग्लै महाधिवेशन गर्न कार्यतालिका पनि जारी गरेका छन्। कार्यतालिका जारी गर्ने चुनदेवी बैठकमा सहभागी नरहेका खड्का र कोइरालासँग सभापति थापाले कुराकानी गरेका हुन्।

भदौ २४ गतेदेखि वडा अधिवेशन सुरू हुने कार्यतालिका छ।

त्यसअघि सभापति थापाले देउवा, खड्का र कोइरालासँग भेटवार्ता गरी पार्टी एकताको अन्तिम प्रयास गर्ने ती पदाधिकारीले बताए। निवर्तमान सभापति देउवासँग यसअघि सभापति थापाले भेट्न खोजे पनि देउवा पक्षबाट समय उपलब्ध भएको थिएन।

यसबीच सर्वोच्च अदालतले १५ औं महाधिवेशन कार्यतालिका रोक्न अन्तरिम आदेश दिएन। त्यसपछि असोज १६ देखि १९ गतेसम्म पूर्वनिर्धारित कार्यतालिकामै महाधिवेशन गर्ने तयारी कांग्रेसको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय