मुस्ताङमा सोमबार(आज)देखि सबै प्रजातिका स्याउ टिप्न खुल्ला गरिएको छ । गत भदौ ८ गतेको जिल्लास्तरीय निर्णयअनुसार आजदेखि ढिलो पाक्ने स्याउ उत्पादनको पोस्ट हार्भेस्ट खुल्ला गरिएको हो ।
यसअघि मुस्ताङमा छिटो पाक्ने स्याउ भदौ १५ गतेदेखि टिपाइ गर्न पाइने निर्णय भएको थियो । आजदेखि ढिलो पाक्ने स्याउको बगैँचामा टिपाइ गर्न पाइनेगरी खुल्ला गरिएको छ ।
मुस्ताङमा उत्पादन हुने स्याउमध्ये गाला, फुजी र साउने स्याउ छिटो पाक्ने प्रजातिअन्तर्गत पर्छन् । अन्य जातका स्याउ केही ढिलो पाक्ने सूचीअन्तर्गत पर्दछन् ।
मुस्ताङी स्याउको ‘ब्रान्ड’लाई जोगाइराख्न जिल्लास्तरबाट स्याउ टिप्ने पाइने कार्यतालिका सार्वजनिक गरिएको हो ।
जिल्ला समन्वय समिति, मुस्ताङको अगुवाइमा सराकोरवाला कार्यालय र मुस्ताङका अगुवा कृषकहरू सम्मिलित जिल्लास्तरीय बैठकले छिटो पाक्ने स्याउ र ढिलो पाक्ने स्याउको टिपाइ गर्न पाइने समय कार्यतालिका निश्चित गरेका छन् ।
समिति प्रमुख माया गुरुङले आजदेखि मुस्ताङका सबै प्रजातिका स्याउ टिपाइ गर्न खुल्ला भएको जानकारी दिए ।
स्याउको गुणस्तर खस्किन नदिन, उत्पादन वृद्धि गर्न र स्याउमा पर्याप्त मात्रामा गुलियोपना कायम होस् भन्ने अभिप्रायले मुस्ताङमा जिल्लास्तरीय निर्णय गरी स्याउ टिप्ने कार्यतालिका बनाइएको हो ।
मुस्ताङमा आजदेखि सबै प्रजातिका स्याउ टिपाइ गर्न पाइने नियम खुल्ला भएसँगै मुस्ताङका स्याउ बगैँचामा धमाधम स्याउ टिपाइ गरी हार्भेस्टको काम भइरहेको छ ।
एक साताअघि मुस्ताङ आएका धादिङका स्याउ व्यापारी उर्चा तामाङले स्याउ टिपाइ खुल्ला भएका कारण आफूहरू मुस्ताङ आएको बताए ।
तीन दशकदेखि स्याउ व्यापार गर्दैआएका तामाङले मुस्ताङबाट एक करोड मूल्य बराबरको स्याउ बजार पठाउने तयारी गरेको बताए ।
व्यापारी तामाङजस्तै जिल्लाभित्र र बाहिरका दर्जनौँ सङ्ख्यामा व्यापारी स्याउ खरिद गर्न किसानको बगैँचामा पुगिसकेका छन् ।
यस वर्ष कोरला नाकाबाट पनि चिनियाँ स्याउ भित्रिने सूचनाले स्याउ बिक्री नहुने पो हो कि भन्ने चिन्ता बढेको स्याउ व्यापारी तामाङले बताए ।
मुस्ताङमा गत वर्ष एक अर्ब १० करोड २३ लाख ७० हजारको स्याउ उत्पादन भएको थियो । जसमध्ये ९० प्रतिशत स्याउ जिल्ला बाहिर निकासी हुँदा ९९ करोड जिल्लामा भित्रिएको थियो ।
कृषि तथा पशु विकास कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार मुस्ताङका पाँच स्थानीय तहमा कुल ८९९ दशमलव १६ हेक्टरमा स्याउ खेती विस्तार भएको छ ।
कार्यालय प्रमुख डा. लालमणि अर्यालयका अनुसार स्याउ विस्तार भएको क्षेत्रफलमध्ये ८३७ हेक्टर क्षेत्रफल स्थानीय र ६२ हेक्टर क्षेत्रफलमा उच्चघनत्वको (हाइब्रिड) स्याउ खेती गरिएको छ ।
यसैगरी, मुस्ताङमा गरिएको स्याउ खेतीमध्ये ६२७ हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटमा उत्पादन हुने गरेको छ । प्रमुख डा अर्यालका अनुसार मुस्ताङमा ५७२ हेक्टरमा स्थानीय र ५५ हेक्टर क्षेत्रफलमा लगाइएको बोटले उत्पादन दिने गरेको छ ।







