काठमाडौं: नेपाल भलिबल लिग (एनभिएल) मा मधेश वरियर्सले पहिलो जित दर्ता गरेको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्ड हलमा भएको मंगलबारको पहिलो खेलमा मधेश वरियर्सले खप्तड फाल्कन्सलाई ३–०को सोझो सेटमा पराजित गरेको हो।
मधेश वरियर्सले खप्तड फाल्कन्सलाई २५–२१, २५–२० र २५–२३ ले हरायो। मधेश वरियर्सले पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग, दोस्रो खेलमा काठमाडौं रेड्ससँग र तेस्रो खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग हार बेहोरेको थियो।
खप्तड फालकन्सले पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग, दोस्रो खेलमा कर्णाली शिवराजसँग हार बेहोरेको थियो। यो खप्तडको तेस्रो हार हो। आजको दोस्रो खेलमा सगरमाथा स्म्यासर्स र काठमाडौं रेड्स खेल्नेछन्। प्रतियोगितामा ६ पुरुष टिम सहभागी छन् । सहभागी टिमले पहिले सिंगल राउन्ड रोविन लिगका आधारमा खेल्ने छन्।
कप किनलिगमा शीर्ष स्थानमा रहने टोली फाइनलमा प्रवेश गर्ने छ । शीर्ष दुई र तेश्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने छन्।नेपाल भलिबल लिगको कुल पुरस्कार राशी ३२ लाख रुपैयाँ रहेको छ। विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्ने छ। यो प्रतियोगिताको फाइनल खेल भदौ २७ गते हुनेछ।







