काठमाडौं : काठमाडौंको ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा १० जना बंगलादेशी नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-२६ ठमेल क्षेत्रमा रहेका होटल तथा गेस्ट हाउसमा विदेशी नागरिकहरू गैरकानुनी रूपमा बसोबास गरिरहेको सूचनाका आधारमा चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा केही बंगलादेशी नागरिक गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा फहिमा अख्तर हसन, महमुद, महाबुब हसन, रेपोन मेहमुद, एमडी केरामोट अलिखान, साहिदुर रहमान, एमडी खलिलुर रहमान, अरिफुर रहमान, एमडी मारुफ मृधा र मोहम्मद हनिफ मिया रहेका छन्।
उनीहरूलाई होटल ढाका एक्सप्रेस, होटल डे भेरा र होटल अलराहमान लगायतका स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका सबै बंगलादेशी नागरिकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि अध्यागमन विभाग, कालिकास्थान, काठमाडौं पठाइएको कार्यालयले जनाएको छ।







