नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टी एकताका लागि आफू नरम बनेको बताएका छन्। नेपाली कांग्रेस स्याङ्जाले कांग्रेसका वरिष्ठ नेता स्वर्गीय गोपालमान श्रेष्ठको ४५औँ दिनको पुण्यतिथिमा आयोजना गरेको शोकसभामा बोल्दै सभापति थापाले कांग्रेस पार्टी पुनः जाग्ने बताए। उनले सभापतिको जिम्मेवारीलाई आफूले गम्भीरतापूर्वक बुझेको भन्दै कुँडिएका मन मिलाएर बलियो कांग्रेस बनाउने विश्वास व्यक्त गरे।

‘एकताका लागि जति नरम बनेको छु,पार्टीभित्रका कमी–कमजोरी सुधार्न त्यति नै निर्मम पनि हुन सक्छु,’सभापति थापाले भने।

राजनीतिक तथा लोकतान्त्रिक आन्दोलनमा स्वर्गीय श्रेष्ठको योगदान र अभिभावकीय भूमिका सबैका लागि सधैं प्रेरणाको स्रोत बनिरहने उनले बताए। उनले भने,‘स्याङ्जा कांग्रेसको छुट्टै र बलियो पहिचान छ। बीपीले भन्नुभएको ‘कांग्रेसको संगठन हेर्न स्याङ्जा जाऊ’भन्ने अभिव्यक्ति त्यसै सिर्जित भएको होइन। यहाँका नेताहरूले सामाजिक–राजनीतिक क्षेत्रमा पुर्‍याएको योगदानको परिणाम हो।’

शासकीय अहंकारका कारण सधैं व्यवस्था हल्लिने गरेको चर्चा गर्दै सभापति थापाले गत भदौ २३ गतेको जेनजी आन्दोलन पनि त्यसैको प्रारूप भएको बताए। मतदाता सधैं स्वतन्त्र हुने र समर्थक तथा शुभेच्छुक घटाउन नहुनेमा जोड दिँदै उनले चुनाव जित्ने वा हार्ने विषयभन्दा जनताको भरोसायोग्य पार्टी बन्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।

पार्टीमा चार तहका कार्यकर्ता रहेको बताउँदै उनले सबैको सहभागिता सुनिश्चित गर्नु अनिवार्य रहेको बताए। थापाले स्वर्गीय गोपालमान दाइले अन्तिम समयमा ‘सबैको पालो आउने गरी नयाँ पुस्तालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्नू’भनेअनुसार आफू अघि बढिरहेको बताए।

शोकसभामा महामन्त्री प्रदीप पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे,नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा,जिल्ला सभापति राजु थापा,गण्डकी प्रदेश सदस्य भोजराज अर्याल, पूर्वसांसद मोहनप्रसाद पाण्डे,सचिव गुरुप्रसाद भट्टराई, महासमिति सदस्य तुलसी गिरी, कांग्रेस नेता भरतराज ढकाल र रामेश्वर खनाल, उपसभापति केदार काफ्ले, सचिव दामोदर लम्साल, स्वर्गीय श्रेष्ठका छोरा सम्पूर्णमान श्रेष्ठ, पुतलीबजार नगरसभापति सुरज अधिकारीलगायतले स्वर्गीय श्रेष्ठले स्याङ्जाको राजनीतिक, सांस्कृतिक, शैक्षिक, भौतिक तथा सामाजिक विकासमा पुर्‍याएको योगदानको चर्चा गरेका थिए।

श्रेष्ठको गत साउन १२ गते जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा क्यान्सरका कारण ८३ वर्षको उमेरमा निधन भएको थियो।

वि.सं. २०१७ सालदेखि प्रजातान्त्रिक आन्दोलनमा सक्रिय श्रेष्ठले २०३६ सालको जनमतसंग्रह,२०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलन र २०६२–६३ सालको दोस्रो जनआन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

श्रेष्ठ २०४८,२०५६ र २०६४ सालमा स्याङ्जाबाट संसदीय निर्वाचनमा निर्वाचित भएका थिए। उपप्रधानमन्त्रीसहित शिक्षा,भौतिक पूर्वाधार,वन तथा भूमिसंरक्षण र उद्योग मन्त्रालयको जिम्मेवारी सम्हालेका श्रेष्ठले समग्र स्याङ्जाको शैक्षिक,सामाजिक तथा भौतिक विकासमा उल्लेख्य योगदान पुर्‍याएका थिए।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय