काठमाडौं । निवर्तमान उद्योगमन्त्री गौरीकुमारी यादवसँग प्रधानमन्त्री बालेन शाह असन्तुष्ट थिए भन्ने जानकारी रास्वपा सभापति रवि लामिछानेलाई थियो । तर प्रधानमन्त्रीले तुरुन्तै उनलाई हटाएर दीपक साहलाई मन्त्री बनाउँदैछन् भन्ने लामिछानेको जानकारीमा थिएन ।

सभापति लामिछानेले आफ्नो कोटाबाट विगतमा गौरीकुमारी मन्त्री बनेको, तर उनलाई हटाएर बिहीबार नयाँ मन्त्री ल्याउँदा आफूलाई एक बचन नसोधिएको विषयलाई नोटिसमा लिएका छन् ।

प्रधानमन्त्री कार्यालय तथा रास्वपा उच्च स्रोत दुवैले नयाँ मन्त्री नियुक्तिको विषयमा रवि पूर्णतः जानकारीबाहिर रहेको, शपथभन्दा अगाडि जानकारी गराइएको पुष्टि गरेका छन् ।

रास्वपा स्रोतले भन्यो, ‘को मन्त्री बनाउने हटाउने भन्ने विषय प्रधानमन्त्रीको प्राथमिक अधिकारको विषय हो भन्नेमा सभापतिज्यूमा अलमल छैन । तर मन्त्री चयनजस्तो महत्त्वपूर्ण निर्णयमा पार्टी सभापति जानकारीबाहिर रहने अवस्था आउनु सही तरिका भएन ।’प्रधानमन्त्री कार्यालयले भन्यो, ‘गौरीकुमारीजीको पर्फर्मेन्स ठिक चलिरहेको छैन भन्नेमा रवि दाइलाई हामीले यसअघि नै भनिसकेका थियौं । पछिल्ला घटनाहरू देखिबुझिसकेपछि उहाँ पनि अब हटाउनुपर्छ भन्नेमा सहमत नै हुनुहुन्थ्यो । नयाँ मन्त्रीको बारेमा चाहिँ शपथग्रहणभन्दा केही अगाडि जानकारी गराएका हौं । नियुक्ति त प्रधानमन्त्रीको विषय हो । गल्ती भएपछि जहाँबाट भएको हो, त्यहीँबाट करेक्सन गर्नुपर्ने हुन्छ । हामीले त्यही करेक्सन्मात्र गरिदिएको हो ।’

अमेरिका-इरान युद्धका कारण पश्चिम एसियामा ग्यास तथा पेट्रोलियम लगायत संकट थपिँदै जाँदा त्यसको असर नेपालमा पनि परेको थियो । मन्त्री यादव आउँदै गर्दा नेपाल त्यसअगावै अभाव झेलिरहेको थियो ।

तर प्रधानमन्त्री कार्यालयको बुझाइमा उनले त्यसलाई पूर्णतः टार्न नसके पनि न्यूनीकरण गर्न असमर्थ भइन् । अनि बालेन आफैंले एक्सन् लिएका हुन् ।

‘कतिजना मन्त्री सुरुमा कमजोर हुन्छन्, बिस्तारै फर्म (लय) मा आउँछन् । उहाँहरूलाई बलियो बनाउन कहिले सचिव हटाइदियौं, कहिले अनुकूलको प्रशासन बनाइदियौं,’ प्रधानमन्त्री बालेन निकट उच्च स्रोतले भन्यो, ‘तर केही गर्दा पनि पर्फर्मेन्स सुध्रेन । अनि अस्ति जेपायो त्यही बोलेपछि त अब हटाउने विकल्प नै रहेन । उहाँ गइसकेपछि को नयाँ आयो भन्ने विषय ठूलो होइन, अब काम कसरी हुन्छ भन्ने विषयमात्रै ठूलो हो ।’

पार्टी सभापति र प्रधानमन्त्रीबीच शक्तिसन्तुलन बनाइराख्ने पर्याप्त कोसिस भइरहेको, तर कहीँ न कहीँ ग्याप रहेको बुझाइ दुवै पक्षको छ । नेताहरुले आफूलाई अलग पक्ष भनी चित्रण नगर्न अनुरोध गर्दै आइरहे पनि आन्तरिक तहमा स्वयं उनीहरु त्यसरी प्रस्तुत हुने गरेको देखिन्छ ।

मन्त्री लगायत कतिपय नियुक्तिमा सभापति लामिछानेको स्वाभाविक चासो रहेको, तर सरकारी पक्षले बोधार्थ दिनेमा सीमित राख्दै आएको, पछिल्ला दिनमा त्यही जानकारी पनि खासै दिन छाडेको रास्वपा पार्टी पंक्ति ठान्छ । ‘पुराना पार्टीमा राज्यसत्ता कि पार्टीसत्ता बलियो भन्ने झगडा हुन्थ्यो, हाम्रोमा त्यो नहोस् भन्ने हो, तर बिस्तारै त्यो पनि सुरु होलाजस्तो देखिन्छ,’ लामिछाने निकट नेताले बताए ।

ती नेताका अनुसार विगतमा सीके राउत निकट हुँदै रास्वपा आएका नयाँ मन्त्री साहको पृष्ठभूमिबारे पार्टीभित्र प्रश्नहरु छन् ।

ती नेताले यो पनि भने कि प्रधानमन्त्रीले सभापतिलाई एक बचन सोधेको भए उनी हालका संसदीय दल उपनेता गणेश पराजुलीलाई अघि सार्ने तयारीमा थिए । तर रवि लामिछानेको कोटामा रहेको एउटा मन्त्रालय पनि अन्ततः बालेन पक्षले आफूसँगै राखिदिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय