काठमाडौं । भारतले श्रीलंकालाई ७२ रनले पराजित गर्दै महिला एसिया कप क्रिकेटको उपाधि जितेको छ ।
योसँगै भारतले प्रतियोगिताको इतिहासमा कीर्तिमानी आठौँ पटक एसिया कप उपाधि जितेको हो । भारत प्रतियोगितामा अपराजित रह्यो ।
२०२४ को फाइनलमा श्रीलंकासँग पराजित भएको भारतले यसपटक त्यसैको बदला लिँदै शानदार जित निकालेको हो । यो भारतको लगातार १०औँ फाइनल सहभागिता पनि थियो ।
दुवई अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । भारतको सुरुवात नै आक्रामक रह्यो । ओपनर शेफाली वर्माले ६८ रन तथा स्मृति मन्धानाले ५९ रन बनाए ।
वर्माले केवल २४ बलमा अर्धशतक पूरा गर्दै महिला टी–२० एसिया कप इतिहासकै सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान कायम गरिन् । उनले ५ खेलबाट २३६ रन बनाउँदै प्रतियोगितामा तीन अर्धशतकसमेत पूरा गरिन् ।
वर्मा र मन्धानाले पहिलो विकेटका लागि १३० रनको साझेदारी गरे । मन्धानाले ३९ बलमा ५९ रन बनाइन् । उनी रनआउट भएपछि भारतले केही विकेट गुमाए पनि जी कामालिनीको आक्रामक अन्त्यसँगै १८३ रनको बलियो योगफल बनायो ।
१८४ रनको लक्ष्य पछ्याएको श्रीलंका भने भारतीय स्पिन आक्रमणसामु टिक्न सकेन । दीप्ति शर्मा र श्री चारानीले श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त पारे ।
दीप्तिले कप्तान चामारी अटापट्टु र विष्मी गुणारत्नेलाई आउट गरिन्। चारानीले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिइन् । उनले कभिशा दिलहारी र निलाक्षिका सिल्भासहित महत्वपूर्ण विकेट लिएर श्रीलंकालाई दबाबमा पारिन् ।
अन्ततः श्रीलंका १११ रनमै अलआउट भयो। भारतले ७२ रनको फराकिलो जित निकाल्दै आठौँ महिला एसिया कप उपाधि आफ्नो नाममा गर्यो ।






