काठमाडौँ । भोटेकोशी बाढीका कारण क्षतिग्रस्त पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा सडक विभागले असोज १ गतेदेखि सबै सवारीसाधनका लागि दुईतर्फी सडक सञ्चालन गर्ने तयारी गरेको छ।

सडक विभागका योजना तथा अनुगमन महाशाखाका उपमहानिर्देशक शुभराज न्यौपानेका अनुसार कृष्णभीरमा सडक खुलाउने कामको परीक्षण सफल भए पनि अझै ग्राभेल, सतहगत निकास (सब–सर्फेस ड्रेनेज) तथा पहिरोको सक्रिय क्षेत्रमा पानी निकासका लागि फ्रेन्च ड्रेन र होरिजोन्टल ड्रिलिङको काम गर्न बाँकी छ।

भोटेकोशीमा आएको बाढीका कारण पृथ्वी राजमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो। त्यसपछि आएको अर्को बाढीले नदीको कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत क्षेत्रमा सडकको तल्लो भाग बगाएको थियो।

कृष्णभीर पुरानो पहिरो सक्रिय हुने क्षेत्रसमेत भएकाले सडक विभागले विज्ञहरूसँग परामर्श गरेर सडक खोल्ने निर्णय गरेको न्यौपानेले बताए। नेपाल जिओटेक्निकल सोसाइटीसँगको परामर्शपछि पहिरोको भित्तातर्फबाट सडक खन्दै तत्कालीन रूपमा यातायात सञ्चालन गर्ने र त्यसपछि आवश्यक प्राविधिक उपचारका काम अघि बढाउने निर्णय गरिएको उनले जानकारी दिए।

आइतबार गरिएको परीक्षणका क्रममा कृष्णभीरमा एक चरणको ट्रयाक खोलिएको र उपलब्ध ग्यास बुलेटलाई पार गराएर सडकको परीक्षण गरिएको न्यौपानेले बताए। तर सडकमा अझै ग्राभेल बिछ्याउने तथा पानी निकासको काम बाँकी रहेकाले तत्कालका लागि सडक पुनः रोकिएको उनले स्पष्ट पारे।

कृष्णभीर खोल्दा दुईतर्फी नै यातायात सञ्चालन गर्ने तयारी रहेको न्यौपानेको भनाइ छ। यद्यपि माथिबाट पहिरो खस्ने वा अन्य प्राविधिक समस्या आएमा अवस्था हेरेर निर्णय गर्नुपर्ने हुनसक्छ। भोटेकोशी बाढीको प्रभाव पृथ्वी राजमार्ग हुँदै त्रिशूली र नारायणी क्षेत्रसम्म परेको भन्दै सडक विभागले यात्रुलाई सावधानी अपनाउन आग्रह गरेको छ।

‘भदौ १० गतेको भोटेकोशी बाढीले पृथ्वी राजमार्गका केही सडकखण्डमा क्षति पुर्‍याएको थियो भने भदौ १४ गतेको बाढीले नदी कटान बढाउँदा परेवाभीर, कृष्णभीरलगायत स्थानमा सडक तलबाटै बगाएको थियो,’ उपमहानिर्देशक न्यौपानेले भने, ‘कृष्णभीरको पुरानो पहिरो सक्रिय क्षेत्र व्यवस्थापनका लागि विज्ञ तथा नेपाल जियोटेक्निकल सोसाइटीसँग परामर्श गरी सडक विभागले तत्काल यातायात सञ्चालन गर्न प्राविधिक जोखिम लिएर काम अघि बढाएको हो। सुरुमा एक लेनको ट्र्याक खोल्ने र पछि दुई लेनमा विस्तार गर्ने गरी काम गरिएको थियो। हिजो उपलब्ध ग्यासका बुलेटहरूलाई पास गराउँदै ट्र्याकको परीक्षणसमेत गरिएको छ।’

उनले अगाडि भने, ‘हाल ग्राभेल तथा सब–सर्फेस ड्रेनेजको काम बाँकी छ। सक्रिय पहिरो क्षेत्रमा फ्रेन्च ड्रेन तथा होरिजोन्टल ड्रिलिङमार्फत पानी निकासको व्यवस्था गरिनेछ। यी काम पूरा गरी असोज १ गतेदेखि कृष्णभीरमा सबै प्रकारका सवारी साधनका लागि दुईतर्फी यातायात सञ्चालन गर्ने तयारी गरिएको छ। माथिबाट पहिरो जाने वा अन्य प्राविधिक समस्या आएमा भने अवस्था हेरी निर्णय गरिनेछ। पृथ्वी राजमार्गका विभिन्न स्थानमा नदी कटान तथा पहिरोको प्रभाव परेको छ। विपद्को समयमा अत्यावश्यक नभएसम्म यात्रा नगर्न म यात्रुहरूलाई अनुरोध गर्दछु।’

अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा पनि सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गर्दै उनले बाढीको अवस्था सामान्य भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा पुनर्निर्माणका काम अघि बढाइने जानकारी दिए। न्यौपानेका अनुसार बाढीका कारण नदीको सतह बढ्नुका साथै नदी कटानले पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडकको तल्लो भागमा क्षति पुगेको छ।

बाढी तथा वर्षा कम भएपछि राजमार्गको विस्तृत प्राविधिक मूल्याङ्कन गरी आवश्यक सुधार तथा मर्मतका काम अघि बढाइने उनले बताए। उनले विपद्को समयमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरे। सडक विभागले बाढी तथा पहिरोबाट प्रभावित पृथ्वी राजमार्गका अन्य खण्डको समेत अवस्था मूल्याङ्कन गरी आवश्यकताअनुसार तत्कालीन तथा दीर्घकालीन सुधारका काम अघि बढाउने जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय