चाडपर्वलाई लक्षित गर्दै कपिलवस्तुमा सञ्चालन गरिएको लागुऔषध सेवन (लापसे) चेकजाँचका क्रममा एकै दिन चार जना चालक पक्राउ परेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा गरिएको चेकजाँचका क्रममा उनीहरू लागुऔषध सेवन गरेको अवस्थामा फेला परेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुको टोलीले बुधबार दिउँसो १ बजेदेखि ४ः३० बजेसम्म सार्वजनिक तथा निजी सवारी साधनका चालकको लापसे तथा मापसे परीक्षण गरेको थियो ।

सो क्रममा शंका लागेका २३ जना चालकको पिसाब (युरिन) एक्रो किटमार्फत परीक्षण गर्दा चार जनामा लापसे पोजेटिभ देखिएको थियो । साथै एक जना स्कुटर चालक मादक पदार्थ सेवन गरेको अवस्थामा फेला परेका थिए ।

लापसे पोजेटिभ देखिएका चार जनामा अर्घाखाँची शितगंगा नगरपालिका–१२ का २५ वर्षीय युवराज खनाल, प्युठान खलङ्गा–७ का ३८ वर्षीय संजय केसी, रुपन्देही कञ्चन गाउँपालिका–५ का २३ वर्षीय लिलबहादुर विक र दाङ राप्ती गाउँपालिका–१ का ३५ वर्षीय कृष्णकुमार गुप्ता रहेका छन् । उनीहरू क्रमशः टिप्पर, ईभी जिप, टेलर र फोर्सका चालक रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले लापसे परीक्षणका क्रममा पोजेटिभ देखिएका चालकको किट प्रमाणीकरणका लागि कपिलवस्तु जिल्ला अस्पताल तौलिहवा पठाएको थियो । प्रमाणीकरणपछि थप कारबाहीका लागि उनीहरूलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेको जिम्मा लगाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्रकुमार सिंहले चाडपर्वको समयमा सवारी आवागमन बढ्ने भएकाले दुर्घटना न्यूनीकरणका लागि लागुऔषध तथा मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि निगरानी र कारबाहीलाई प्राथमिकता दिइएको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक राजन ढकालले लापसे सेवन गरी सवारी चलाउँदा चालकसँगै यात्रु र सडकमा हिँड्ने अन्य व्यक्तिको ज्यानसमेत जोखिममा पर्ने भएकाले चाडपर्व अवधिमा चेकजाँचलाई थप कडाइ गरिने बताए।

प्रहरीका अनुसार चाडपर्वमा लामो दूरीका तथा निजी सवारी साधनको चाप बढ्ने भएकाले राजमार्गमा लापसे, मापसे तथा अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई लक्षित गरी चेकजाँचलाई निरन्तरता दिइनेछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय