काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मोहनलाल आचार्यले संविधान संशोधन बहसपत्र संविधान संशोधनको मस्यौदा नभई त्यसका लागि आवश्यक आधार तयार गर्ने प्रारम्भिक दस्तावेज भएको स्पष्ट पारेका छन्।

प्रतिनिधि सभाको विशेष समयमा भाग लिँदै उनले संविधानमा रहेका कमी-कमजोरी पहिचान गरी संशोधनका लागि आवश्यक विषयको समीक्षा गर्न बहसपत्र तयार गर्ने कार्य अघि बढाइएको बताएका हुन्।यो आफैँमा संविधान संशोधनको प्रक्रिया नभएको सांसद आचार्यले स्पष्ट पारे। केवल संविधान संशोधनका लागि हालसम्म भएका अभ्यासबाट सिकेका पाठका आधारमा कहाँ-कहाँ काम गर्न कठिनाइ भयो र कुन-कुन विषयमा संशोधन गर्न आवश्यक छ भन्ने समीक्षा गरी आधार तयार पार्नु मात्रै यसको मुख्य उद्देश्य रहेको उनले बताए।सङ्घ, प्रदेश र स्थानीय तहबिच अधिकार बाँडफाँडमा दोहोरो तथा तेहेरो अधिकार देखिएको, एकल र साझा अधिकारका विषयमा द्विविधा रहेको तथा विभिन्न ऐन कार्यान्वयनमा कठिनाइ देखिएका कारण बहसपत्र तयार पारिएको उनले उल्लेख गरे। संवैधानिक आयोगको प्रभावकारितालगायत विषयमा संविधान पुनरावलोकन आवश्यक रहेको र धारा २६५ मा यसको व्यवस्था रहेको उनले जानकारी गराए।

नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सातबुँदे सहमतिमा संविधान संशोधन गर्ने स्पष्ट प्रतिबद्धता रहेको स्मरण गराउँदै आचार्यले यसको आवश्यकता राजनीतिक तहबाट पहिल्यै स्वीकार गरिएको दाबी गरे। कार्यदलले ९० दिनसम्म छलफल गरी १८४ व्यक्ति र १५० निकाय तथा सङ्घसंस्थासँग प्रत्यक्ष संवाद गरेर ४४ हजार ६१३ सुझाव सङ्कलन गरेको उनले बताए।

बहसपत्रमार्फत शासकीय स्वरूप, सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षताजस्ता संविधानका आधारभूत विषय परिवर्तन गर्न खोजिएको भन्ने आरोप आचार्यले अस्वीकार गरे। संविधानको आधारभूत संरचनालाई नछोई संविधानलाई थप प्रभावकारी बनाउने विषयमा कार्यदलका सदस्यबिच सहमति रहेको उनको भनाइ छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय