भारतको बिहार राज्यस्थित मुजफ्फरपुरमा अलपत्र अवस्थामा रहेकी एक नेपालीमहिलाको ११ महिनापछि सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साको समन्वय तथा मानवसेवा आश्रम वीरगन्जको टोलीको विशेष पहलमा उनको उद्धार भएको हो।उद्धार गरिएकीमहिला धादिङको थानबेसी गाउँपालिकाकी ३६ वर्षीया सानुमाया तामाङ रहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्रबहादुर मल्ले जानकारी दिएका छन्। उनलाई सकुशल उद्धार गरी वीरगन्ज ल्याएपछि परिवारको जिम्मा लगाइएको छ।गएको साता भारतीय प्रहरीले उनलाई मुजफ्फरपुरमा अलपत्र अवस्थामा फेला पारेको थियो। लगत्तै भारतीय प्रहरीले उनलाई मुजफ्फरपुरमै रहेको शान्ति कुटीर आश्रममा पुर्याएको थियो।
त्यसपछि पर्सा प्रहरी र मानवसेवा आश्रमको टोलीले समन्वय गरी गत शनिबार उनको उद्धार गरेको हो। ३६ वर्षीया तामाङको परिवारसँग सम्पर्क गरी पर्सा प्रहरीले आज उनका बुवा गुणासिंह तामाङको जिम्मा लगाएको छ।








